Breaking Nepal

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ७३ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने ८७ जना, रातो बत्ती उल्लङ्घन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको छ।
त्यसैगरी, कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लङ्घन गर्ने ५६ जना, एकतर्फी सडकमा सवारी चलाउने ३२ जना तथा अन्य विभिन्न ट्राफिक कसुरमा १ हजार ५८ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय ट्राफिक नियम कार्यान्वयनलाई प्रभावकारी बनाउन नियमित अनुगमन र कारबाहीलाई तीव्र बनाउँदै आएको जनाएको छ।