पहिचान खुल्ने डरले एचआईभी संक्रमित टाढाका अस्पतालमा उपचार गर्न बाध्य

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १३:२४

टीकापुर– समाजमा अझै पनि विभेद र हेपाह प्रवृत्ति कायम रहेकाले एचआईभी संक्रमित धेरै बिरामी आफ्नो बसोबास क्षेत्रभन्दा टाढाका एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) केन्द्रमा गएर उपचार सेवा लिन बाध्य भएका छन्।

लम्कीचुहाकी ७१ वर्षीया एक महिलाले आफ्नो नगरमै एआरटी सेवा उपलब्ध भए पनि पहिचान खुल्ने डरले नियमित रूपमा टीकापुर अस्पतालमा आएर औषधि लिने गरेको बताइन्। उनका अनुसार समाजमा एचआईभी संक्रमितप्रति अझै नकारात्मक धारणा रहेकाले धेरै बिरामीले आफ्नो अवस्था लुकाएर उपचार गरिरहेका छन्।

टीकापुर अस्पतालको एआरटी केन्द्रबाट हाल ५३१ जना एचआईभी संक्रमितले सेवा लिइरहेका छन्। तीमध्ये २०७ पुरुष, ३०४ महिला, ११ जना लैङ्गिक अल्पसंख्यक र नौ जना बालबालिका रहेका छन्। यहाँ कैलालीका विभिन्न स्थानीय तहका साथै बर्दिया र सुर्खेतका बिरामीले पनि उपचार सेवा लिने गरेका छन्।

अस्पतालसँग सहकार्य गर्दै आएको एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालका अनुसार सामाजिक विभेदका कारण धेरै बिरामी आफ्नो स्थानीय एआरटी केन्द्रमा जान नचाहने अवस्था अझै कायम छ। संस्थाले चालु आर्थिक वर्षमा उपचारका लागि आवतजावत गर्ने ८३५ जनालाई यातायात खर्च, ३१६ जनालाई पोषण सहयोग, २०१ जनालाई औषधि खरिद सहयोग तथा १२ जनालाई आकस्मिक उपचारमा सहयोग गरेको जनाएको छ।

संस्थाले एचआईभी संक्रमितलाई स्वास्थ्य बिमामा आबद्ध गराउने, नियमित औषधि सेवनको निगरानी गर्ने तथा भाइरल लोड परीक्षणमा समेत सहजीकरण गर्दै आएको छ।

बिरामीहरूले नियमित आम्दानी र पोषणको अभाव आफ्नो प्रमुख समस्या भएको बताएका छन्। केही स्थानीय तहले पोषण सहयोग गरे पनि त्यो पर्याप्त नभएको उनीहरूको गुनासो छ।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले एचआईभी संक्रमितको उपचार र हकहित संरक्षणका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था तथा सरोकारवालाबीच थप समन्वय आवश्यक रहेको बताए। उनले समुदायमा रोगबारे जनचेतना बढाई विभेद अन्त्य गर्नुपर्नेमा पनि जोड दिए।