इरानको स्पष्ट सन्देश– अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता हुँदैन

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १४:०१

तेहरान– इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष कूटनीतिक वार्ता नहुने स्पष्ट पारेको छ। तेहरानले नयाँ वार्ताभन्दा विद्यमान समझदारी (एमओयू) को प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार सम्झौताको प्राविधिक कार्यान्वयनको अनुगमन गर्न इरानले यसै साता विशेषज्ञहरूको प्रतिनिधिमण्डल कतारको दोहा पठाउने तयारी गरेको छ।

बाघाईले अमेरिकाले सम्झौताअनुसार इरानी तेलको बिक्री सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको उल्लेख गर्दै अब इरानको मुख्य ध्यान सम्झौताको धारा–११ को प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए। उक्त धाराले इरानका वित्तीय सम्पत्तिको व्यवस्थापन र नियन्त्रणसँग सम्बन्धित विषय समेटेको छ।

उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको सम्भावित भ्रमणलाई इरानी टोलीको कामसँग सम्बन्धित नरहेको स्पष्ट पार्दै हाल कुनै नयाँ कूटनीतिक वार्ताको तयारी भइरहेको भन्ने अनुमानलाई अस्वीकार गरे।

अन्तिम सम्झौताका लागि औपचारिक वार्ता कहिलेदेखि सुरु हुन्छ भन्ने प्रश्नमा बाघाईले प्रक्रिया अझै सुरु नभएको बताए। उनका अनुसार धारा १, ४, ५, १० र ११ को पूर्ण तथा दिगो कार्यान्वयन सुनिश्चित भएपछि मात्र अन्तिम सम्झौताका लागि वार्ता अघि बढ्नेछ।

यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने दाबी गरेपछि आएको हो। अमेरिकी सञ्चारमाध्यमका अनुसार विशेष दूत स्टिभ विटकफ दोहातर्फ प्रस्थान गरेका छन्।

यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकाले सम्झौताअनुसार आफ्ना दायित्व पूरा गरे इरान पनि आफ्ना प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आपसी विश्वास र सहकार्य नै समझदारीको आधार भएको उल्लेख गरेका छन्।