Breaking Nepal

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई आर्थिक रूपान्तरणसँग जोड्दै प्रभावकारी र परिणाममुखी विकास कूटनीतिमा सरकारले विशेष जोड दिएको बताएका छन्।
परराष्ट्र मन्त्रालयद्वारा आयोजित ‘प्रा. यदुनाथ खनाल व्याख्यान शृङ्खला’को पाँचौँ संस्करणलाई सम्बोधन गर्दै मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूलाई आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी र बजार विस्तारमा केन्द्रित गरिएको बताए।
उनले विश्वव्यापी शक्ति सन्तुलन, आपूर्ति शृङ्खला, पूर्वाधार र कृत्रिम बुद्धिमत्ताजस्ता उदीयमान प्रविधिले अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै नेपालका लागि यसले चुनौतीसँगै नयाँ अवसर पनि सिर्जना गरेको बताए।
मन्त्री खनालले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील, असंलग्नता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर समयानुकूल परराष्ट्र नीति अघि बढाउनुपर्नेमा जोड दिए।
उनले असंलग्नतालाई निष्क्रियता नभई स्वतन्त्र निर्णय क्षमता र राष्ट्रिय हितअनुसार अन्तर्राष्ट्रिय घटनाक्रमको मूल्याङ्कन गर्ने नीति भएको स्पष्ट पारे। साथै, जनताको विकास, समृद्धि र अवसरका आकाङ्क्षा पूरा गर्न परराष्ट्र नीतिले पनि प्रत्यक्ष योगदान दिनुपर्ने बताए।
भूराजनीति नेपालका लागि स्थायी यथार्थ भए पनि प्रत्येक विषयलाई त्यसैको दृष्टिकोणबाट मात्र नहेर्न आग्रह गर्दै उनले नेपालको भौगोलिक अवस्थिति व्यापार, लगानी, सम्पर्क सञ्जाल र क्षेत्रीय सहकार्यका अवसरले भरिपूर्ण रहेको उल्लेख गरे।
मन्त्री खनालले भारत र चीनसँग हाल भएका उच्चस्तरीय भेटवार्ता व्यावहारिक सहकार्य र पारस्परिक हितमा केन्द्रित रहेको जानकारी दिए। साथै, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, सम्मान र कल्याण सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको पनि बताए।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘नेपालको परराष्ट्र नीतिः भूराजनीतिक तथा भूआर्थिक प्रवृत्तिहरूबीच मार्गनिर्देशन’ विषयमा मुख्य वक्तव्य दिएका थिए।