Breaking Nepal

विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१८ स्थित नेपाल कष्टम यार्ड भवनमा सीमाबासी र सशस्त्र प्रहरीबीच सीमा सुरक्षा तथा सीमा क्षेत्रमा देखिएका विभिन्न चुनौतीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङको आयोजनामा आयोजित कार्यक्रममा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम, सीमावासीका समस्या तथा गुनासा, दशगजा क्षेत्रको अतिक्रमण र भारतीय सीमा सुरक्षा बलले गर्ने व्यवहारलगायत विषयमा छलफल भएको थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिका–१८ का वडा अध्यक्ष जितेन्द्र साह प्रमुख अतिथिका रूपमा सहभागी थिए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी, सीमा सुरक्षा गुल्म मुख्यालय रानीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्का, सीमा सुरक्षा पोष्ट जहदा–भुटाहाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुमन सुवेदी तथा अस्थायी प्रहरी पोष्ट भेडियारीका प्रहरी सहायक निरीक्षक ब्रह्मदेव यादवको पनि सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय पत्रकार तथा सीमावासीको उल्लेख्य उपस्थिति थियो ।
अन्तरक्रियाका क्रममा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइयो । लागुऔषध ओसारपसार, अवैध कारोबार तथा सीमा अतिक्रमणजस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय र स्थानीयबासीबीच नियमित समन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो ।
छलफलका क्रममा सीमावासीले दैनिक रूपमा भोगिरहेका समस्या, सीमा क्षेत्रमा हुने व्यवहारगत कठिनाइ तथा सुरक्षा व्यवस्थासम्बन्धी गुनासा पनि राखेका थिए । त्यसको जवाफमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा देखिएका समस्याको समाधानका लागि आवश्यक सहजीकरण गर्ने तथा स्थानीय समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको थियो ।
कार्यक्रमले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुका साथै सुरक्षा निकाय र सीमावासीबीचको विश्वास, समन्वय र सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।