Breaking Nepal

विराटनगर / लियो क्लब अफ विराटनगरको लियो वर्ष २०२६–२०२७ का लागि सञ्जु गोइत अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ नेतृत्वले सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
अघिल्लो कार्यकालमा अध्यक्ष रहेकी सिर्जना लुइटेलको नेतृत्वमा क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदानलगायत विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गरेको थियो। ती कार्यक्रममार्फत क्लबले समुदायमा सकारात्मक योगदान पुर्याएको जनाएको छ ।
करिब नौ वर्षदेखि लियो अभियानमा सक्रिय गोइत सेवामुखी, ऊर्जाशील र नेतृत्वदायी युवाका रूपमा परिचित छन् । लामो समयको संगठनात्मक अनुभवका आधारमा उनको नेतृत्वमा क्लबले आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने अपेक्षा गरिएको छ ।
लायन्स क्लब अफ विराटनगरको प्रायोजनमा सञ्चालित लियो क्लब अफ विराटनगरले आगामी कार्यकालमा पनि आफ्नो मूल मन्त्रलाई आत्मसात् गर्दै समाजसेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।