Breaking Nepal

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षाक्षेत्रमा दलीयकरण गहिरिँदै जानु वर्तमान अवस्थाको प्रमुख समस्या भएको टिप्पणी गरेका छन्।
शुक्रबार कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै थापाले शिक्षामा राजनीति हुनु र दलीयकरण हुनु फरक विषय भए पनि अहिले दलीय हस्तक्षेप नै ठूलो चुनौती बनेको बताए।
उनका अनुसार विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक नियुक्तिमा योग्यता र क्षमताभन्दा राजनीतिक निकटता तथा ‘आफ्नोपन’ प्राथमिकतामा पर्ने प्रवृत्ति गाउँ–गाउँसम्म फैलिएको छ।
थापाले शिक्षाक्षेत्रमा योग्यभन्दा आफ्ना मान्छे राख्ने अभ्यासबाट बाहिर निस्कन नसकेसम्म गुणस्तरीय शिक्षा सम्भव नहुने धारणा राखे।
उनले शिक्षकहरूले विद्यालयमा आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उल्लेख गर्दै समुन्नत राष्ट्र निर्माणमा अझ बढी योगदान दिन आवश्यक रहेको बताए।