विराटनगरमा ३६ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ १७:३९

विराटनगर / नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रण अभियानलाई तीव्र बनाइरहेका सुरक्षाकर्मीले मोरङको विराटनगरबाट करिब ३६ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेका छन् ।

विराटनगर महानगरपालिका–१, बरगाछी क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनीबाट खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार सडक छेउमा लोड गर्न तयारी अवस्थामा राखिएको शंकास्पद सामान चेकजाँच गर्दा करिब ३० लाख ८४ हजार रुपैयाँ बराबरका मल्टिभिटामिन औषधि फेला परेको हो। उक्त औषधि आवश्यक कानुनी प्रक्रिया पूरा गरी राजस्व तथा भन्सार सम्बन्धी कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

यसैबीच, विराटनगरका दरैया र मटेरूवा क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेका दुई वटा सिटी सफारी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । ती सवारीसाधनमा लोड गरिएको डाल्डा घ्यू तथा २० प्याकेट पुटिन बरामद गरिएको हो ।

बरामद गरिएका सामान, दुई वटा सिटी सफारीसहित करिब ५ लाख २५ हजार रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरीको प्रारम्भिक मूल्यांकन छ । उक्त सामग्री आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाइसकिएको छ ।

सीमा क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ ।