वनको थाकलबाट हस्तकला, नवलपुरका महिला बने आत्मनिर्भर

Breaking Nepal

शनिबार ,असार २० , २०८३ १०:३५

नवलपुर– वनमा खेर जाने प्राकृतिक स्रोतको सदुपयोग गर्दै नवलपुरका महिलाले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गरिरहेका छन्। देवचुली नगरपालिकाको नमूना महिला सामुदायिक वनमा आबद्ध महिलाले थाकल र अम्रिसोबाट विभिन्न हस्तकलाका सामग्री तथा कुचो उत्पादन गरी आत्मनिर्भर बन्ने अभियानलाई सफल बनाएका छन्।

पहिले वनमै खेर जाने थाकल अहिले महिलाको आम्दानीको मुख्य आधार बनेको छ। उनीहरूले थाकलबाट झोला, टोपी, टेबल म्याट, गमला, सजावटी सामग्रीलगायत विभिन्न हस्तकला उत्पादन गर्छन् भने अम्रिसोबाट कुचो बनाएर स्थानीय बजारदेखि काठमाडौंसम्म बिक्री गर्दै आएका छन्।

नमूना हस्तकला सामान उत्पादन महिला समूहकी अध्यक्ष कोपिला रायमाझीका अनुसार सामान्य झोला उत्पादनबाट सुरु भएको उद्यम अहिले विविध हस्तकला सामग्री र अम्रिसोका कुचो उत्पादनसम्म विस्तार भएको छ। हाल समूहमा करिब २० जना महिला सक्रिय छन्।

समूहका सदस्यहरूले सामुदायिक वनबाट थाकल सङ्कलन गरी प्रशोधनपछि सामग्री उत्पादन गर्छन्। उत्पादनमा संलग्न महिलालाई पारिश्रमिक प्रदान गरिन्छ भने बचत रकम उद्यम विस्तारमा लगानी गरिन्छ।

उद्यममा आबद्ध महिलाहरूले घरायसी कामपछि फुर्सदको समयमा हस्तकला सामग्री तयार गरी अतिरिक्त आम्दानी गरिरहेका छन्। यसबाट व्यक्तिगत खर्च व्यवस्थापनका साथै परिवारको आर्थिक अवस्था सुधार्न सहयोग पुगेको उनीहरूको भनाइ छ।

समूहले उत्पादन गरेका सामग्री होमस्टे, पर्यटन क्षेत्र तथा काठमाडौंसम्म पुग्ने गरेका छन्। पछिल्लो समय ग्राहक आफैं उत्पादन लिन आउने र मागसमेत बढ्दै गएको अध्यक्ष रायमाझीले बताइन्।

नमूना महिला सामुदायिक वनकी अध्यक्ष रिलकुमारी तामाङका अनुसार बढ्दो माग पूरा गर्न अन्य सामुदायिक वनबाट समेत कच्चा पदार्थ ल्याएर उत्पादन विस्तार गरिएको छ। हाल काठमाडौंबाट एकैपटक १०० वटा हस्तकला सामग्रीको अर्डर आएको उनले जानकारी दिइन्।

उद्यमलाई थप व्यवस्थित बनाउन समूह संस्थागत रूपमा सञ्चालन गरिएको छ। हालै थप २० जना महिलालाई हस्तकला तालिमसमेत प्रदान गरिएको छ, जसका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको जनाएको छ।

डिभिजन वन कार्यालय नवलपुरका अनुसार वनमा खेर जाने प्राकृतिक स्रोतको सदुपयोग गर्दै सञ्चालन गरिएको यस्तो उद्यमले महिला सशक्तीकरण, आयआर्जन, स्थानीय रोजगारी प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।