Breaking Nepal

विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१४ जतुवामा खेतमा गाईवस्तु छाडिएको विषयबाट सुरु भएको स्थानीय विवाद कुटपिटमा परिणत हुँदा एक महिला घाइते भएकी छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुबा–छोरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
शनिबार दिउँसो भएको घटनामा खेतमा गाईवस्तु प्रवेश गरेको विषयलाई लिएर स्थानीयबीच भनाभन सुरु भएको थियो। सामान्य विवाद चर्किँदै जाँदा ५८ वर्षीया लक्ष्मी यादवमाथि कुटपिट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुटपिटबाट घाइते भएकी यादवको स्वास्थ्य अवस्थाबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
घटनाको जानकारी पाएलगत्तै सीआरभी जतुवाबाट असई उर्मिला गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनामा संलग्न रहेको आरोपमा स्थानीय ५९ वर्षीय धनपत यादव र उनका ३७ वर्षीय छोरा राजेश यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुवैलाई हाल इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार घटनाको वास्तविक कारण, कुटपिटको प्रकृति तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।
घटनापछि जतुवा क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि प्रहरीको सक्रियतापछि स्थिति नियन्त्रणमा आएको र हाल अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।