इटहरीको होटलबाटै गृहमन्त्रीको ‘स्पट एक्सन’, जाहेरी नलिने प्रहरीलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन

Breaking Nepal

शनिबार ,असार २० , २०८३ २१:४९

इटहरी / कोशी प्रदेशको सुरक्षा अवस्थाको स्थलगत अनुगमनका क्रममा इटहरीमा सामान्य होटलमा बसेर सर्वसाधारणका गुनासा सुनेका गृहमन्त्री सुधन गुरुङले प्रहरीले जाहेरी दर्ता नगरेको घटनामा तत्काल कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । औपचारिक निरीक्षणपछि होटलमै नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनले सेवा प्रवाहमा हुने ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका हुन् ।

विराटनगरका औपचारिक कार्यक्रम सम्पन्न गरेर धरानतर्फ जाने क्रममा गृहमन्त्री गुरुङ शनिबार दिउँसो इटहरी–१६ स्यार्सेकालीस्थित इन्दिरा स्टाफ होटलमा भोजनका लागि पुगेका थिए । त्यही क्रममा होटलमा रहेका स्थानीयले व्यक्तिगत तथा प्रशासनसँग सम्बन्धित समस्या राखेपछि वातावरण अनौपचारिक जनसुनुवाइमा परिणत भएको थियो ।

संवादकै क्रममा एक स्थानीयले लेनदेनसम्बन्धी विवादपछि आफूमाथि कुटपिट भएको भए पनि इलाका प्रहरी कार्यालय पकलीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको गुनासो गरे । गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले सँगै रहेका प्रहरी अधिकारीलाई घटनाको कानुनी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिँदै नागरिकको उजुरी दर्तामा कुनै प्रकारको अवरोध स्वीकार्य नहुने बताए ।

त्यसक्रममा मिर्गौला रोगबाट पीडित अर्का एक व्यक्तिले घरबेटीले कोठाबाट निकालेको तथा उपचारका क्रममा विभिन्न प्रशासनिक समस्या भोग्नुपरेको जानकारी गराएका थिए । गृहमन्त्रीले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसअघि विराटनगरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, रानी–जोगबनी सीमा नाका तथा विराटनगर भन्सार कार्यालयको निरीक्षण गरेका गृहमन्त्रीले सुरक्षा निकायका अधिकारीसँग सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, तस्करी, लागुऔषध ओसारपसार र अपराध नियन्त्रणका विषयमा समीक्षा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षणका क्रममा उनले हिरासत कक्ष, विभिन्न शाखा, स्टाफ ब्यारेक तथा प्रशासनिक संरचनाको अवलोकन गर्नुका साथै प्रहरी कर्मचारीसँग प्रत्यक्ष छलफल गरेका थिए । उनले नागरिकमैत्री सेवा, अनुशासन र जिम्मेवार कार्यसम्पादनलाई संगठनको प्राथमिकता बनाउन निर्देशन दिएका थिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन र कमजोर भौतिक पूर्वाधारबारे सरकार जानकार रहेको बताए। बजेट सीमित भए पनि स्रोत व्यवस्थापन गरेर प्रहरी पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने उनले उल्लेख गरे ।

कोशी प्रदेश भ्रमणका क्रममा औपचारिक सुरक्षा समीक्षा र निरीक्षणसँगै इटहरीमा नागरिकका गुनासा प्रत्यक्ष सुन्नु तथा घटनास्थलमै सम्बन्धित प्रहरीलाई निर्देशन दिनुलाई गृह प्रशासनले सेवा प्रवाहलाई थप उत्तरदायी बनाउने अभ्यासका रूपमा लिएको छ । इटहरीका कार्यक्रम सम्पन्न गरेपछि गृहमन्त्री गुरुङ थप कार्यक्रमका लागि धरानतर्फ प्रस्थान गरेका थिए ।