गाँजा बोकेर भाग्ने क्रममा पोखरीमा हाम फालेका किशोर दुई दिनपछि मृत फेला

Breaking Nepal

शुक्रबार ,असार २६ , २०८३ ११:५९

विराटनगर / विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित पोखरीमा बेपत्ता भएका १७ वर्षीय मञ्जितकुमार यादव दुई दिनपछि शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
मोरङ प्रहरीका अनुसार बुधबार बिहान भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा ओसार्दै गरेको आशंकामा प्रहरीले रोक्न खोजेपछि चालक मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा हाम फालेका थिए । त्यसपछि बेपत्ता भएका यादवको शव शुक्रबार बिहान करिब १०:३० बजे पोखरीको बीच भागमा पानीमाथि तैरिरहेको अवस्थामा देखिएको हो । शव निकाल्न डुंगाको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादवलाई पक्राउ गरिएको छ । उनले बोकेको झोलाबाट ६ किलो १३० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार मृतक यादव यसअघि पनि गाँजासहित पक्राउ परेका थिए । उमेर नपुगेको भन्दै अभिभावकको जिम्मा लगाएर छाडिएको उनी फेरि लागूऔषध कारोबारसँग जोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।