Breaking Nepal

विराटनगर / जेनजी अभियन्ता माजिद अन्सारीको बिनासर्त रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङको मुख्य प्रवेशद्वारमा धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार साँझ कार्यालयको मुख्य गेटमै प्रदर्शन गर्दै धर्ना बसेपछि आवागमन प्रभावित भएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले प्रहरी कार्यालयको प्रवेशद्वार अवरुद्ध हुने गरी प्रदर्शन गरिएकाले कानुनी व्यवस्थाअनुसार २६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका सबै जेनजी समूहसँग आबद्ध अभियन्ता हुन्।
यसअघि काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका बेला माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामध्ये थापा र खड्का रिहा भइसकेका छन् भने अन्सारी अझै प्रहरी नियन्त्रणमै रहेका छन्।
प्रहरीको कुटपिटबाट अन्सारी घाइते भएको र उनको टिचिङ अस्पतालमा उपचार भइरहेको अभियन्ताहरूले बताएका छन्। उनीहरूले अन्सारीमाथि भएको व्यवहारको छानबिन गर्न तथा उनलाई बिनासर्त रिहा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन आयोजना गरेका हुन्।
प्रदर्शनका क्रममा केही समय प्रहरी कार्यालय आसपासको अवस्था तनावग्रस्त बने पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।