Breaking Nepal

विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले १५औँ स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रका चार जना सञ्चारकर्मीलाई विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्कीलाई ‘तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ प्रदान गरिएको हो । उक्त सम्मानसँग ५१ हजार रुपैयाँ नगद राशिसमेत प्रदान गरिएको छ ।
यसैगरी आर्थिक पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप अर्जुन आचार्यलाई ५० हजार रुपैयाँ राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
श्रमजीवी पत्रकारहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको २१ हजार रुपैयाँ राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार’ पदमकुमार सरदारलाई प्रदान गरिएको छ ।
त्यस्तै, महिला पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको १० हजार रुपैयाँ राशिको ‘दमीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ रस्मिता उदासलाई प्रदान गरिएको सहकारीले जनाएको छ ।
चारवटै पुरस्कार तथा सम्मान कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, आयोजक संस्थाका अध्यक्ष दीपक दाहाल, पुरस्कारका संस्थापक उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख विष्टले देश विकास र समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रको भूमिका अहम हुने धारणा राखे । उनले जिम्मेवार पत्रकारिताको समाज र देशलाई सही मार्गमा अगाडि बढाउने बताए ।
पुरस्कारका संस्थापक समाजसेवी दीनबन्धु गोयलले देशको आर्थिक विकासमा पत्रकारिता क्षेत्रको योगदान उल्लेखनीय रहेको चर्चा गरे । उनले देशभित्र अथाह सम्भावना भएर पनि देशको विकासले गति लिन नसकेकोमा दुखेसो पोखे ।
समारोहमा सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारी, उपाध्यक्ष महाप्रसाद खतिवडा, सचिव विजय खतिवडा, पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष कुमोद अधिकारी, मोरङकी अध्यक्ष सुशीला पाठक, पुरस्कृतका तर्फबाट अर्जुन आचार्य, जिल्ला सहकारी संघका अध्यक्ष माधव अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीले स्थापना दिवसका अवसरमा पत्रकारिताको विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सञ्चारकर्मीलाई सम्मान गर्दै व्यावसायिक पत्रकारिताको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।