Breaking Nepal

विराटनगर / कोशी अस्पतालको स्वामित्वमा रहेको बहुमूल्य जग्गा खाली गराउने प्रक्रिया अन्तिम चरणमा पुगेसँगै अस्पताल चोक क्षेत्रमा रहेका व्यावसायिक सटरहरू धमाधम खाली हुन थालेका छन् । अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन दिएको अल्टिमेटम सोमबार सकिने भएपछि व्यवसायीहरूले शनिबारदेखि नै सामान सार्न सुरु गरेका हुन् ।
अस्पतालले आफ्नो दीर्घकालीन गुरुयोजना कार्यान्वयनका लागि अस्पताल परिसरभित्र अन्य संस्थाले निर्माण गरेका स्थायी संरचना हटाउने तयारी गरेको छ । तोकिएको समयभित्र संरचना नहटाइए सोमबारदेखि डोजर परिचालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल परिसरको बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले वर्षौंदेखि स्थायी संरचना निर्माण गरेका छन् । ती संस्थाले निर्माण गरेका ३० भन्दा बढी सटर तेस्रो पक्षलाई भाडामा दिएर व्यावसायिक प्रयोजनमा सञ्चालन हुँदै आएका छन् ।
अस्पताल प्रशासनका अनुसार सार्वजनिक स्वास्थ्य संस्थाको नाममा रहेको जग्गा अस्पतालकै सेवा विस्तारका लागि उपयोग गरिनुपर्ने भएकाले अतिक्रमित तथा अन्य प्रयोजनमा प्रयोग भएका संरचना हटाउने निर्णय कार्यान्वयनमा ल्याइएको हो ।
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पताल परिसरको स्थलगत अनुगमन गर्दै सार्वजनिक प्रयोजनको जग्गा तत्काल खाली गराउन निर्देशन दिएका थिए । त्यसलगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले करिब ६ कट्ठा ८ धुर जग्गा लामो समयदेखि प्रयोग गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीले करिब दुई कट्ठा क्षेत्रफलमा संरचना निर्माण गरी भाडामा लगाएको छ भने गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडाका सटरहरू व्यावसायिक रूपमा सञ्चालन गर्दै आएका छन् ।
अस्पताल प्रशासनले सबै संरचना हटाएर अस्पतालको सेवा विस्तार तथा पूर्वाधार विकासका लागि जग्गा उपयोग गर्ने तयारी गरेको जनाएको छ । सोमबारसम्म संरचना स्वेच्छाले खाली नगरिए कानुनी प्रक्रिया अनुसार डोजर परिचालन गरी हटाइने तयारी गरिएको छ ।