मोरङका विभिन्न नाकाबाट तस्करीका सामान बरामद, दुई लाख नगदसहित भारतीय नागरिक पक्राउ

Breaking Nepal

शनिबार ,असार २७ , २०८३ १६:०६

विराटनगर / मोरङका विभिन्न सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै करिब ६ लाख ८१ हजार रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरेको छ । त्यस्तै, स्रोत नखुलेको झण्डै दुई लाख रुपैयाँ नेपाली नगदसहित एक भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको    छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी, मोरङ मातहतका विभिन्न युनिटबाट खटिएका टोलीले शनिबार सञ्चालन गरेको सीमा निगरानीका क्रममा मोरङका अलग–अलग नाकाबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका सामान बरामद गरेका हुन् ।

सशस्त्र प्रहरीका अनुसार इस्लामपुर क्षेत्रबाट छ बोरा लत्ताकपडा बरामद गरिएको छ, जसको अनुमानित मूल्य एक लाख ८० हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरी दरैया क्षेत्रबाट १३ बोरा, करिब ६५० केजी छोकडा बरामद गरिएको छ । उक्त सामानको अनुमानित मूल्य तीन लाख २५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

यस्तै, रानी–मटेरुवा क्षेत्रबाट कपडा, किराना तथा कस्मेटिक सामग्रीसहित एक लाख ५० हजार ६३० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । बरामद गरिएका सबै सामानको कुल अनुमानित मूल्य ६ लाख ८० हजार ५३० रुपैयाँ पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच, बीओपी डोरिया क्षेत्रबाट अवैध रूपमा भित्र्याइएको ८० केजी मुंग्री माछा पनि बरामद गरिएको छ । स्वास्थ्य तथा कानुनी मापदण्डअनुसार उक्त माछा खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उता, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले एक नम्बर ढाट क्षेत्रमा नियमित जाँचका क्रममा स्रोत नखुलेको एक लाख ९९ हजार ५०० रुपैयाँ नेपाली नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्य, उत्तर दिनाजपुर जिल्लाको कापासिया ग्रामपञ्चायत निवासी ३४ वर्षीय मनीरुजमान रहेका छन् । उनको साथबाट पाँच सय दरका ३९९ थान नेपाली नोट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई बरामद नगदसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । सीमावर्ती क्षेत्रमा तस्करी तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।