अमडुवामा विशेष औद्योगिक क्षेत्र र विराटनगरमा प्रदर्शनी केन्द्र बनाउन निजी क्षेत्रको संयुक्त पहल

Breaking Nepal

शनिबार ,असार २७ , २०८३ १६:२७

विराटनगर / कोशी प्रदेशको औद्योगिक विकासलाई नयाँ गति दिने उद्देश्यसहित सुनसरीको अमडुवामा विशेष आर्थिक तथा औद्योगिक क्षेत्र (एसईजेड) र विराटनगरमा औद्योगिक प्रदर्शनी केन्द्र निर्माणको पहललाई निजी क्षेत्रले संयुक्त रूपमा अघि बढाउने भएको छ ।

प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपाने, नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पदाधिकारीहरूले अमडुवा र विराटनगरका प्रस्तावित आयोजना स्थलको संयुक्त स्थलगत अवलोकन तथा छलफलपछि योजना कार्यान्वयनका लागि साझा रणनीतिमा सहमति जनाएका हुन् ।

सुनसरीको अमडुवामा करिब ६ सय बिघा क्षेत्रफलमा विशेष आर्थिक क्षेत्र, औद्योगिक ग्राम तथा आधुनिक औद्योगिक पूर्वाधार विकास गर्ने र विराटनगर महानगरपालिका–३ मा पूर्वनिर्धारित योजनाअनुसार औद्योगिक प्रदर्शनी केन्द्र निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने निष्कर्ष बैठकले निकालेको छ ।

छलफलका क्रममा दुवै आयोजनाले कोशी प्रदेशको औद्योगिक तथा आर्थिक गतिविधिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो । सहभागीहरूले औद्योगिक प्रदर्शनी केन्द्र सञ्चालनमा आएपछि स्वदेशी उत्पादनको प्रवर्द्धन, बजार विस्तार, उद्योगी–व्यवसायी र खरिदकर्ताबीच व्यावसायिक सञ्जाल विस्तार तथा निर्यात अभिवृद्धिमा टेवा पुग्ने धारणा राखे ।

त्यस्तै अमडुवामा औद्योगिक क्षेत्र विकास भएपछि नयाँ उद्योग स्थापना, उत्पादन क्षमता विस्तार, प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना, स्थानीय कच्चा पदार्थको उपयोग, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ। यसबाट प्रदेशको राजस्व वृद्धि र समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने निष्कर्ष बैठकले निकालेको जनाएको छ ।

कार्यक्रममा सांसद न्यौपानेले दुवै आयोजनालाई कार्यान्वयनमा लैजान संघीय सरकारसँग आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थलगत अवलोकनपछि नेपाल उद्योग परिसंघ कोशी प्रदेशको सचिवालयमा परिसंघका अध्यक्ष पवनकुमार सारडाको संयोजकत्वमा बसेको संयुक्त बैठकले आयोजनालाई परिणाममुखी ढंगले अघि बढाउन योजना निर्माण तथा कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ । समितिले सरकार, संसद् तथा स्थानीय तहसँग समन्वय गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा आयोजना कार्यान्वयनका लागि आवश्यक खाका तयार गर्नेछ ।

समितिको संयोजकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा रहेका छन् । सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्डडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह तथा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल रहेका छन् । आवश्यकता अनुसार विज्ञ तथा अन्य सदस्य थप गर्ने निर्णय पनि बैठकले गरेको परिसंघ कोशी प्रदेशका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।