Breaking Nepal

काठमाडौं / ट्राफिक नियम उल्लंघन गर्नेमाथि ५० हजार रुपैयाँसम्म जरिबाना लगाउनुपर्ने भन्ने अभिव्यक्तिका कारण आलोचनामा परेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक कुनै पनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल एक्स मार्फत मन्त्री पुनले आफूले अब ठूला–साना युट्युबर, सामाजिक सञ्जालका सञ्चालक तथा पत्रकार कसैलाई पनि सामान्य विषयमा अन्तर्वार्ता नदिने बताएका हुन् ।
उनले सार्वजनिक गरेको वक्तव्यमा ट्राफिक जरिबानासम्बन्धी विषयमा आफूलाई पर्याप्त जानकारी नभएको स्पष्ट पार्दापार्दै पनि पटक–पटक प्रश्न गरिएको दाबी गरेका छन्। उनका अनुसार आफूले ट्राफिक नियमको अटेरी गर्नेहरूलाई कडा कारबाही आवश्यक रहेको सन्दर्भमा धारणा राखेको भए पनि ५० हजार रुपैयाँ जरिबानाको विषय भने प्रश्नकर्ताकै प्रसंगबाट आएको थियो ।
विवाद बढेपछि मन्त्री पुनले ५० हजार रुपैयाँ जरिबानासम्बन्धी आफ्नो अभिव्यक्ति फिर्ता लिँदै सार्वजनिक रूपमा माफीसमेत मागेका छन् ।
उनले आफ्नो भनाइले अज्ञानतावश कसैको भावनामा चोट पुगेको भए क्षमा गर्न आग्रह गर्दै ट्राफिक नियम पालना गर्नु सबै नागरिकको दायित्व भएको उल्लेख गरेका छन् । साथै ट्राफिक नियमको अवज्ञा गर्नेहरूले आफ्नै जिम्मेवारीबोधका साथ आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
हालै मन्त्री पुनले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई ५० हजार रुपैयाँसम्म जरिबाना गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । उक्त भनाइ सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक वृत्तमा व्यापक आलोचनाको विषय बनेपछि उनले आफ्नो धारणा सच्याउँदै माफी मागेका हुन् ।