Breaking Nepal

झापा / सरकारी प्रोत्साहनपछि धानखेती घटाएर व्यावसायिक कागती खेतीमा लागेका झापाका किसान यतिबेला बजार अभावका कारण समस्यामा परेका छन्। भारतबाट सस्तो मूल्यमा आयात हुने कागतीले स्थानीय उत्पादनलाई प्रतिस्पर्धाहीन बनाइदिएपछि किसानले उत्पादन गरेको कागती बिक्री गर्न कठिन भएको हो।
झापाको गौरादह नगरपालिका–४ का किसान नवीन आचार्यले छ वर्षअघि १४ कठ्ठा जमिनमा सुन कागतीको व्यावसायिक खेती सुरु गरेका थिए। उत्पादन अपेक्षाअनुसार भए पनि बजारमा उचित मूल्य नपाउँदा लगानी नै जोखिममा परेको उनको गुनासो छ।
उनका अनुसार सरकारले कागती खेतीलाई प्राथमिकता दिँदै किसानलाई प्रोत्साहन गरेपछि जिल्लाका धेरै किसान धानखेतीबाट फलफूल खेतीतर्फ आकर्षित भएका थिए। तर अहिले भारतीय कागती कम मूल्यमा बजारमा उपलब्ध हुँदा स्थानीय उत्पादन प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ।
“उत्पादन राम्रो छ, तर बिक्री छैन। अहिलेको अवस्था हेर्दा लगानी बालुवामा पानी हालेजस्तै भएको छ,” आचार्यले भने।
किसानहरूले स्थानीय तह वा सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरी बिक्री हुन नसकेको कागती खरिद गर्ने व्यवस्था गरे उत्पादनमा निरन्तरता दिन सहज हुने बताएका छन्।
बुद्धशान्ति गाउँपालिका–२ का किसान उत्तमप्रकाश भट्टराईका अनुसार सरकारी नीति र प्राविधिक सहयोगका आधारमा किसानले कागती खेती विस्तार गरे पनि बजार व्यवस्थापनको अभावले उनीहरू निराश बन्दै गएका छन्। उनले पछिल्लो समय कागतीमा देखिएको टुप्पो सुक्ने रोगका कारण धेरै बोट नष्ट भएको र त्यसले थप क्षति पुर्याएको बताए।
अर्जुनधारा नगरपालिका–३ का किसान कुशल थापाले विगतमा बगैँचामै पुगेर व्यापारीहरूले कागती खरिद गर्ने गरे पनि अहिले त्यो अवस्था नरहेको बताए। बजार नपाएपछि उनी आफैं गाउँ र सहरका गल्ली–गल्ली डुल्दै साना पोकामा कागती बिक्री गर्न बाध्य छन्। दिनभरि घुम्दा मुस्किलले १० किलोसम्म मात्र बिक्री हुने गरेको उनको अनुभव छ।
मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा र गौरादहलगायत क्षेत्रमा यस्तै अवस्था देखिएको किसानहरूको भनाइ छ।
बुद्धशान्ति–२ का किसान रामप्रसाद उप्रेतीले धानखेतीभन्दा कागतीबाट धेरै आम्दानी सम्भव भएको अनुभव सुनाउँदै अहिलेको प्रमुख समस्या उत्पादन होइन, बजार भएको बताए। “बजार सुनिश्चित हुने हो भने कागती खेती अझै लाभदायक बन्न सक्छ,” उनले भने।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टका अनुसार जिल्लामा कागती उत्पादन बढे पनि बजार विस्तार हुन नसक्दा किसानमा निराशा बढ्दै गएको छ। उनका अनुसार केही वर्षअघि ३१० हेक्टर क्षेत्रफलमा फैलिएको कागती खेती अहिले घटेर करिब २७० हेक्टरमा सीमित भएको छ।
झापामा करिब ३०० किसानले व्यावसायिक रूपमा कागती खेती गरिरहेका छन्। सहकारी संस्था, कृषि ज्ञान केन्द्र तथा स्थानीय तहको प्रोत्साहनमा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातका कागतीको खेती विस्तार भएको भए पनि बजारीकरणको अभावले उत्पादनको प्रतिफल किसानले लिन नसकेको बिष्टले बताए।
उनका अनुसार स्थानीय बजारको मागले मात्रै जिल्लाको उत्पादन धान्न नसक्ने अवस्था भएकाले प्रशोधन उद्योग, संस्थागत खरिद, अन्तरजिल्ला बजार विस्तार तथा आयात व्यवस्थापनमा प्रभावकारी नीति अवलम्बन नगरे कागती खेतीप्रतिको किसानको आकर्षण थप घट्न सक्ने देखिएको छ।