डुबान हटाउन माग गर्दै स्थानीय आन्दोलनमा, राजविराज–बलान हुलाकी सडक ठप्प

Breaking Nepal

आइतबार ,असार २८ , २०८३ ११:४२

सप्तरी । हुलाकी सडक अन्तर्गतको कल्भर्टमा पानी निकास अवरुद्ध हुँदा बस्ती र खेतीयोग्य जमिन डुबानमा परेपछि सप्तरीको बोदेबरसाईन नगरपालिका–५ स्थित राजविराज–बलान सडक खण्ड स्थानीयवासीले अवरुद्ध गरेका छन्।

स्थानीयका अनुसार कल्भर्टबाट वर्षाको पानी सहज रूपमा बाहिर ननिस्कँदा करिब १० घर डुबानमा परेका छन् भने ७ विघाभन्दा बढी खेतीयोग्य जमिन जलमग्न भएको छ। लगातारको डुबानले दैनिक जनजीवन कष्टकर बनेको र कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूको गुनासो छ।

बोदेबरसाईन नगरपालिका–४ का वडा अध्यक्ष किरणकुमार साहले कल्भर्टको निकास अवरुद्ध हुनु समस्याको मुख्य कारण रहेको बताए। उनले स्थानीयवासी लामो समयदेखि सास्ती खेप्न बाध्य भएको उल्लेख गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

स्थानीय मोहम्मद इसराइलका अनुसार बस्ती विगत १५ दिनदेखि डुबानमा छ। नगरपालिकादेखि सम्बन्धित निकायसम्म पटक–पटक जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएपछि बाध्य भएर हुलाकी सडक अवरुद्ध गरी विरोधमा उत्रिनुपरेको उनले बताए।

स्थानीयले पानी निकासको स्थायी व्यवस्था, डुबान प्रभावित क्षेत्रको तत्काल राहत तथा समस्या समाधानको स्पष्ट प्रतिबद्धता माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।