Breaking Nepal

विराटनगर / कोशी अस्पतालको स्वामित्वमा रहेको अतिक्रमित जग्गा सोमबार बिहान खाली गराइएको छ । अस्पतालको जग्गा मिचेर विभिन्न संघ–संस्थाले व्यावसायिक प्रयोजनका लागि निर्माण गरेका ३२ वटा सटर डोजर प्रयोग गरी हटाइएपछि वर्षौँदेखिको अतिक्रमण अन्त्य भएको अस्पताल प्रशासनले जनाएको छ ।
गृहमन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो। निर्धारित समय सकिएसँगै सोमबार बिहानै तीनवटा डोजर परिचालन गरी विराटनगर महानगरपालिका–७ को अस्पताल चोक र देवकोटा चोक आसपासका संरचना हटाइएको हो ।
अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था र गणेश मन्दिर समितिले भाडामा लगाएका २६ वटा तथा अस्पतालकै स्वामित्वमा रहेका ६ वटा गरी कुल ३२ वटा व्यावसायिक सटर हटाइएको हो ।
संरचना हटाउने क्रममा सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा अधिकारीको उपस्थितिमा डोजर परिचालन गरिएको थियो ।
अस्पताल प्रशासनका अनुसार लामो समयदेखि अस्पतालको बहुमूल्य जग्गामा विभिन्न संघ–संस्थाले स्थायी संरचना निर्माण गरी औषधि पसल, क्लिनिक तथा अन्य व्यवसाय सञ्चालनका लागि तेस्रो पक्षलाई भाडामा दिएका थिए । ती संरचनाबाट उठ्ने भाडा सम्बन्धित संस्थाले नै उपयोग गर्दै आएका थिए भने अस्पताल भने आफ्नै जग्गाको उपयोगबाट वञ्चित थियो ।
अस्पतालले गुरुयोजना कार्यान्वयन तथा सेवा विस्तारका लागि अतिक्रमित क्षेत्र खाली गराउने प्रयास लामो समयदेखि गर्दै आएको थियो। गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमनका क्रममा अतिक्रमित संरचना हटाउन निर्देशन दिएपछि प्रक्रिया अघि बढाइएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले अतिक्रमित संरचना हटाइएपछि अस्पतालले आफ्नो सम्पत्ति संस्थागत तथा स्वास्थ्य सेवा विस्तारका लागि उपयोग गर्ने बताए । उनका अनुसार खाली भएको क्षेत्र तत्कालै घेराबन्दी (कम्पाउन्ड) गरी सुरक्षित बनाइनेछ र अस्पतालको दीर्घकालीन विकास योजनाअनुसार पूर्वाधार विस्तार गरिनेछ ।
अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले करिब ६ कट्ठा ८ धुर तथा नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा वर्षौँदेखि उपयोग गर्दै आएका थिए । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि अस्पतालको सडक मोहडामा व्यावसायिक सटर निर्माण गरी भाडामा लगाउँदै आएका थिए ।
अस्पताल प्रशासनले भने नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक, देवकोटा पुस्तकालय र गणेश मन्दिरका मूल संरचना तत्कालका लागि यथावत् राखिएको स्पष्ट पारेको छ। व्यावसायिक प्रयोजनका लागि निर्माण गरी भाडामा दिइएका सटरहरू मात्रै हटाइएको अस्पतालको भनाइ छ ।