सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

Breaking Nepal

सोमबार ,असार २९ , २०८३ १६:४२

काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको आसाम राज्य, गुहाटी मदनपुरका २६ वर्षीय जावरुल हक र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २४ वर्षीय सरोज कार्की रहेका छन्।

साइबर ब्यूरोका अनुसार जावरुल हकले पीडित महिलाको अश्लील भिडियो र तस्बिर दुरुपयोग गर्दै अनुचित लाभ लिन पटक–पटक दबाब दिएका थिए। माग पूरा नभएपछि ती सामग्री टिकटकमार्फत सार्वजनिक गरी महिलाको चरित्रमा आघात पुर्‍याउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस्तै, सरोज कार्कीले अध्ययनका क्रममा चिनजान भएकी युवतीसँग सम्बन्ध विच्छेद भएपछि पीडितकै फेसबुक खाताको दुरुपयोग गर्दै अश्लील सामग्री पोस्ट गरेको आरोप छ। यसबाट पीडितलाई दुःख–हैरानी, सामाजिक बदनाम तथा मानसिक तनाव पुगेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।

दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको गोपनीयता, प्रतिष्ठा वा चरित्रमा आँच पुर्‍याउने गतिविधि कानुनअनुसार दण्डनीय अपराध भएकाले यस्ता कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।