Breaking Nepal

काठमाडौं – नेकपा (एमाले) ले कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि सवारी साधन तेर्स्याएर पत्रकार तथा सञ्चारकर्मीको आवतजावतमा अवरोध पुर्याइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
सोमबार एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै सञ्चारगृहको मूल प्रवेशद्वारमै सवारी साधन पार्किङ गरी पत्रकारलाई काममा जान रोक लगाउने प्रयास लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको बताएका छन्।
विज्ञप्तिअनुसार तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयको प्रवेशद्वार अवरुद्ध पारिएको थियो। एमालेले स्वतन्त्र रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गरेको छ।
एमालेले उक्त घटनालाई निन्दनीय र रहस्यमय भन्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
साथै, प्रेस स्वतन्त्रताको संरक्षणका लागि नेपाल पत्रकार महासंघले उठाएका मागप्रति आफ्नो पूर्ण समर्थन रहेको एमालेले जनाएको छ।