Breaking Nepal

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई थप सुदृढ बनाउन आवश्यक योजना कार्यान्वयन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।
प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए।
उनले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सुशासनलाई प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिए।
त्यसैगरी, विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरे।
प्रधानमन्त्री शाहले एक स्वास्थ्य संस्थाका सफल अभ्यास अन्य संस्थाले पनि सिकाइ र साझेदारीका माध्यमबाट अपनाउनुपर्ने बताए। साथै, प्रतिष्ठानका नाममा रहेको अतिक्रमित जग्गाको समस्या सम्बन्धित निकायसँग समन्वय गरेर कानुनबमोजिम समाधान गरिने पनि स्पष्ट पारे।
छलफलमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, डिजिटल स्वास्थ्य प्रणाली, अनुसन्धान प्रवर्द्धन तथा पूर्वाधार विकासका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए।