मिडिया हाउसपछि गगन थापाको निवासअगाडि पनि शंकास्पद पार्किङ

Breaking Nepal

सोमबार ,असार २९ , २०८३ १५:४६

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि सोमबार बिहान शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएपछि सुरक्षा चासो बढेको छ । बीएसी ९५७५ नम्बरको उक्त गाडी बिहान करिब ७ बजेदेखि निवासको गेटअगाडि राखिएको स्थानीयले बताएका छन् ।

करिब १० फिट चौडाइको सडकमा गाडी पार्क गरिएकाले स्थानीयवासी तथा सवारीसाधनको आवतजावत प्रभावित भएको थियो । स्थानीयले गाडी हटाउन माग गर्दै असन्तुष्टि जनाएपछि गगन थापा स्वयं घटनास्थल पुगेका थिए । उनले स्थानीयसँग एक दिनको असुविधाप्रति क्षमा माग्दै गाडीमा कुनै क्षति नपुर्‍याउन आग्रह गरेका थिए ।

थापा २०८२ भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि उक्त निवासमा नियमित रूपमा नबस्दै आएको स्रोतले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी दुईपटक घटनास्थल पुगेको भए पनि गाडी तत्काल हटाउने वा गाडीधनीको पहिचान गरी जिम्मा लगाउने प्रक्रिया अघि नबढाएको थापाको सचिवालयको दाबी छ ।

सचिवालयका अनुसार गाडीधनीको विवरण पत्ता लगाउन यातायात व्यवस्था विभागसँग समन्वयको प्रयास गरिएको थियो । तर, तत्काल कुनै जानकारी उपलब्ध गराउन नमिल्ने व्यवस्था रहेको भन्दै आवश्यक विवरण प्राप्त हुन नसकेको जनाएको छ ।

यसैबीच, सोमबार बिहान राजधानीका विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि पनि यस्तै प्रकृतिका गाडी पार्किङ गरिएको पाइएको थियो । अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालयअगाडि राखिएका ती गाडी प्रहरीले क्रेनको सहायताले हटाइसकेको जनाएको छ ।

स्थानीयका अनुसार रातोपुलमा गाडी पार्क गरेर चालक प्रहरीकै सवारीमा चढेर फर्किएको देखिएको दाबी गरिएको छ । यद्यपि, प्रहरीले यसबारे औपचारिक पुष्टि नगरी घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालय र प्रमुख राजनीतिक नेताको निवासअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएका घटनाले सुरक्षा संयन्त्रलाई थप सतर्क बनाएको छ । घटनाको उद्देश्य, संलग्न व्यक्ति तथा गाडीधनीको पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।