Breaking Nepal

विराटनगर / प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा प्रतिमा पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
सोमबार आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका एक संस्था र ६ जना स्रष्टालाई नगदसहित सम्मान गरेको हो ।
यस वर्षको ५० हजार रुपैयाँ राशिको प्रतिभा पुरस्कार पाँचथरका साहित्यकार मनु योङहाङलाई प्रदान गरिएको छ । ५० हजार रुपैयाँ राशिकै लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार झापाको शिवसताक्षीस्थित श्री सरस्वती कन्या गुरुकुलम्लाई प्रदान गरिएको छ ।
त्यस्तै, ५० हजार रुपैयाँ राशिको ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार साहित्यकार प्रा. डा. प्रभा भट्टराई र दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार नाटककार तथा निर्देशक घिमिरे युवराजलाई समर्पण गरिएको छ ।
२१ हजार रुपैयाँ राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार कवि उमानाथ भट्टराई ‘अचल’लाई प्रदान गरिएको छ । त्यस्तै, २१ हजार रुपैयाँ राशिको षडानन्द प्रतिभा पुरस्कार उदयपुरका साहित्यकार पुण्य कार्की र मोरङका कवि उमेश लुइँटेललाई संयुक्त रूपमा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपाने तथा विभिन्न पुरस्कारका संस्थापकले पुरस्कृत व्यक्ति तथा संस्थालाई दोसल्ला, नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले भाषा, साहित्य र संस्कृतिले समाजलाई एकताबद्ध बनाउने आधार भएको उल्लेख गरे । भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा राज्यले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्रतिमा पुरस्कार प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपाने, सचिव दिङ्लाली कान्छो, अग्रज साहित्यकार खेम नेपाली, नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, साहित्यकार कविता केशरी, प्रतिमा निरौला, मञ्जुश्री गिरी र रुपक सुवेदी लगायतले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा रहेको योगदान स्मरण गर्दै सम्मानित स्रष्टा तथा संस्थाको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे ।
वि.सं. २०३९ मा स्थापना भएको प्रतिभा पुरस्कार प्रतिष्ठानले हरेक वर्ष साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।