Breaking Nepal

इटहरी / सुनसरीको इटहरीमा विद्युत मर्मतका लागि खटिएको नेपाल विद्युत प्राधिकरणको स्कोरपिओ दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार राति करिब ११ः४० बजे कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुलबाट करिब २ सय मिटर दक्षिण, तरहरातर्फ प्राधिकरणको बा १ ञा १६५१ नम्बरको स्कोरपिओ अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा स्कोरपिओ चालक धरान उपमहानगरपालिका–१३ का करिब ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का करिब ४९ वर्षीय सुमन अचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। राई करार सेवामा कार्यरत चालक थिए भने अचार्य हेल्पर पदमा कार्यरत स्थायी कर्मचारी थिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। तर उपचार सुरु हुनासाथ चिकित्सकले राति करिब १२ः४५ बजे उनीहरूलाई मृत घोषणा गरेको इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए।
दुर्घटनामा धरान–२० का करिब ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनी प्राधिकरणमा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत रहेको र हाल बीपी प्रतिष्ठानमा उपचार भइरहेको नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी टोली परिचालन गरिएको थियो। सोही क्रममा कर्मचारी बोकेको स्कोरपिओ दुर्घटनामा परेको हो।
दुर्घटनामा स्कोरपिओ पूर्णरूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा गाडी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको देखिएको प्रहरीले जनाएको छ। विद्युत आपूर्ति पुनः सञ्चालन गर्न हतारमा गन्तव्यतर्फ जाँदै गर्दा गाडी तीव्र गतिमा रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।