Breaking Nepal

बागलुङ– अविरल वर्षापछि खसेको पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा बुधबार बिहान ठूलो पहिरो झरेपछि यातायात पूर्ण रूपमा ठप्प बनेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सोमबारदेखि निरन्तर परेको वर्षाले सडकमाथिबाट ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा लोकमार्ग अवरुद्ध भएको हो। सडक बन्द भएपछि पोखरा, काठमाडौं तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन बीचबाटोमै रोकिएका छन्।
लोकमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट बुर्तिबाङ, रोल्पा, रुकुम, डोल्पालगायत गन्तव्यतर्फ छुटेका यात्रुबाहक बस तथा मालवाहक सवारीसमेत प्रभावित भएका छन्। यात्रुहरू सुरक्षित स्थानमा बस्न बाध्य भएका छन् भने लामो दूरीको यात्रा अनिश्चित बनेको छ।
प्रहरीका अनुसार सडकमा पहिरोसँगै ठूलो चट्टानसमेत खसेकाले तत्काल यातायात सञ्चालन गर्न कठिन भएको छ। सडक खुलाउन डोजर परिचालनको तयारी भइरहेको भए पनि निरन्तर वर्षा र पहिरो खस्ने जोखिमका कारण अवरोध हटाउन समय लाग्ने देखिएको छ।
प्रशासनले वर्षायाममा पहिरोको जोखिम उच्च रहेकाले मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






