सुन–चाँदी थप सस्तियो, सुनको मूल्य तोलामा १,२०० रुपैयाँले घट्यो

Breaking Nepal

मंगलबार ,असार ३० , २०८३ ११:२६

काठमाडौं– नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्ने क्रम बुधबार पनि जारी रहेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा दुवै बहुमूल्य धातुको कारोबार मूल्य ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ। त्यसका कारण पछिल्ला दिनमा सुन–चाँदीको मूल्य निरन्तर परिवर्तन भइरहेको छ।