Breaking Nepal

काठमाडौं / उच्च अदालत पाटनले रातो (कूटनीतिक) पासपोर्ट दुरुपयोग तथा कीर्ते कागजसम्बन्धी चर्चित मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्दै तीन पूर्व संविधानसभा सदस्यलाई दोषी ठहर गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई राहदानी ऐनविपरीतको कसुरमा जिल्ला अदालतले सुनाएको जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिबानाको फैसला कायम राखेको हो । अदालतका प्रवक्ता प्रेमप्रसाद पौडेलका अनुसार असार २३ गते फैसला भएको हो भने पूर्णपाठ आउन बाँकी छ ।
मुद्दामा नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका पृथ्वी छन्त्याललाई एक वर्ष कैद र ५०० रुपैयाँ जरिबाना तथा बिचौलियाको भूमिकामा रहेका डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई कीर्ते कागज कसुरमा जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिबाना हुने फैसला पनि यथावत् राखिएको छ ।
प्रहरी अनुसन्धानअनुसार पूर्व सभासदहरूले आफ्नो कूटनीतिक राहदानी आर्थिक लाभका लागि बिचौलियामार्फत उपलब्ध गराएका थिए । ती राहदानीमा फोटो परिवर्तन गरी नक्कली भिसा र सरकारी छाप प्रयोग गरेर विदेश पठाउने गिरोह सक्रिय रहेको खुलेको थियो ।
यता, तत्कालीन संविधानसभा सदस्य नारदमुनि राना तथा हरिचरण साह र अर्का प्रतिवादी डीएन धिताल भने प्रत्यक्ष संलग्नता पुष्टि नभएको आधारमा यसअघि नै सफाइ पाइसकेका छन् ।