कोशीमा २ हजार ६२३ एचआईभी संक्रमित एआरटी सेवामा, सीडी–४ परीक्षण अभावले उपचार प्रभावित

Breaking Nepal

मंगलबार ,असार ३० , २०८३ १५:३८

विराटनगर / कोशी प्रदेशमा एचआईभी संक्रमितको उपचारका लागि एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) सेवा लिने बिरामीको संख्या २ हजार ६२३ पुगेको छ । संक्रमितको स्वास्थ्य अवस्थाको नियमित मूल्याङ्कनका लागि अत्यावश्यक मानिने सीडी–४ परीक्षण सेवा प्रभावकारी रूपमा उपलब्ध हुन नसक्दा उपचार व्यवस्थापनमा चुनौती थपिएको सरोकारवालाले बताएका छन् ।

एएचएफ नेपालद्वारा विराटनगरमा आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा सार्वजनिक गरिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर २७ हजार ५४ जना एचआईभी संक्रमित एआरटी सेवामा आबद्ध छन् । प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी ७ हजार १०४ सेवाग्राही रहेका छन् भने २ हजार ६२३ बिरामीसहित कोशी प्रदेश दोस्रो स्थानमा रहेको छ ।

एएचएफ नेपालका एआरटी क्लिनिक अधिकृत केशव बस्नेतका अनुसार विराटनगर क्षेत्रमा मात्रै २०० भन्दा बढी संक्रमित नियमित एआरटी सेवामा आबद्ध छन् । कोशी अस्पतालस्थित एआरटी केन्द्रबाट हाल ७ जना बालबालिका र ६५० जना वयस्क गरी ६५७ जनाले नियमित उपचार सेवा लिइरहेका छन् ।

उनका अनुसार कोशी अस्पतालको एआरटी केन्द्रमा कोशी प्रदेशका विभिन्न जिल्लासँगै मधेश र बागमती प्रदेशका बिरामी तथा भारतबाट समेत उपचारका लागि आउने गरेका कारण सेवाग्राहीको चाप निरन्तर बढिरहेको छ ।

बस्नेतले उपचार सुरु गरेपछि नियमित फलोअपमा नफर्कने बिरामीको संख्या पनि बढ्दै गएको बताए । उनका अनुसार यस्तो प्रवृत्तिले उपचारको प्रभावकारिता कमजोर बनाउने मात्र नभई संक्रमण नियन्त्रण प्रयासलाई समेत चुनौती पुर्‍याउन सक्छ ।

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कोशी प्रदेशभर देखिएको सीडी–४ परीक्षणको समस्या समाधानका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे । आवश्यक परे महानगरपालिकाको आफ्नै स्रोतबाट समेत बजेट व्यवस्थापन गरेर परीक्षण सेवा सहज बनाउन पहल गरिने उनले बताए ।

उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले एएचएफ नेपालले कोशी अस्पतालमार्फत विभिन्न सहायक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाका अनुसार हालसम्म १०२ पटक बिरामीलाई यातायात सहयोग, ७२ जनालाई खाद्य तथा पोषण सहयोग, ५६ जनालाई औषधि सहयोग तथा २९ जनालाई प्रयोगशाला परीक्षण सहयोग उपलब्ध गराइएको छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलीपकुमार यादवले महानगर क्षेत्रमा एचआईभी संक्रमितको संख्या क्रमशः बढ्दै गइरहेको अवस्थामा एएचएफ नेपालले उपचार सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा स्थानीय जनप्रतिनिधिसम्म स्वास्थ्यसम्बन्धी सूचना प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

बैठकमा सहभागीहरूले नेपाल–भारत सीमावर्ती नाकाबाट आवतजावत गर्ने व्यक्तिहरूको एचआईभी परीक्षणलाई थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले समयमै परीक्षण, नियमित उपचार तथा प्रभावकारी अनुगमनलाई संक्रमण नियन्त्रणको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।