दमकबाट २२.१५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ, मोटरसाइकल र मोबाइल पनि नियन्त्रणमा

Breaking Nepal

सोमबार ,साउन ४ , २०८३ १०:५३

दमक : झापाको दमकमा ब्राउन सुगरको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले २२.१५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

इलामको चुलाचुली गाउँपालिका–४ पालिका टोल निवासी ३५ वर्षीय पूर्णकुमार राईलाई दमक नगरपालिका–१ हवल्दार चोकस्थित ‘टपरी होटल’बाट पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त होटलमा लुकीछिपी लागुऔषधको बिक्री–वितरण भइरहेको विशेष सूचनापछि पुगेको टोलीले राईलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। त्यसपछि गरिएको शरीर तथा साथमा रहेको सामानको खानतलासीका क्रममा लुकाइराखिएको अवस्थामा २२.१५ ग्राम ब्राउन सुगर बरामद भएको हो।

कारबाहीका क्रममा प्रहरीले राईको साथबाट एक थान मोबाइल फोन तथा उनले प्रयोग गरेको मे १० प ३९७० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ। उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।