Breaking Nepal

विराटनगर / कोशी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिने सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा निलम्बित सङ्गीत शिक्षक भीम नेपाल पक्राउ परेका छन्। यससँगै उक्त घटनामा पक्राउ पर्नेको सङ्ख्या चार पुगेको छ।
यसअघि मोरङ प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट तथा प्रारम्भिक अनुसन्धानका आधारमा विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, बस चालक प्रदीप भट्टराई र शिक्षक किशोरलाल गच्छेदारलाई सोमबार बिहान पक्राउ गरेको थियो। फरार रहेका भीम नेपाललाई भने सोही दिन साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरिएको छ। घटनाका सबै पक्षको अनुसन्धान भइरहेको र आवश्यक विवरण क्रमशः सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटहरूमध्ये भीम नेपालसँग सम्बन्धित भनिएको संवादलाई लिएर विशेष चर्चा भएको छ। सार्वजनिक स्क्रिनसटमा उनले एक छात्रालाई आफ्नो कोठामा आउन, सँगै खाना पकाएर बस्न तथा बिहान सँगै फर्किने प्रस्ताव राखेको देखिन्छ। उक्त सामग्रीको सत्यता तथा त्यससँग सम्बन्धित सम्पूर्ण परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
घटना सार्वजनिक भएपछि विद्यालय व्यवस्थापनले आचरणविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै शिक्षक तथा लेखा अधिकृत अविरल मास्के, बस चालक प्रदीप भट्टराई र सङ्गीत शिक्षक भीम नेपाललाई निलम्बन गरेको छ। विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत निलम्बनसम्बन्धी निर्णय सार्वजनिक गरेको थियो।
यसैबीच, घटनामा विद्यालयका प्रधानाध्यापक हिक्मत बस्नेतको नामसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीसँग जोडिएको छ। सार्वजनिक स्क्रिनसटअनुसार उनले एक छात्रालाई विभिन्न समयमा सन्देश पठाएको देखिन्छ। यद्यपि ती सन्देशको वास्तविकता, सन्दर्भ तथा कानुनी महत्वबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रधानाध्यापक बस्नेतसँगै प्रवेश तामाङ, किशोर दाहाललगायत अन्य शिक्षक तथा व्यक्तिहरूको सम्भावित संलग्नताबारे पनि अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्राप्त हुने प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
यस घटनापछि सामाजिक सञ्जालमा ‘सुकुना फाइल्स’ नाम दिइएको गुगल ड्राइभ फोल्डरमार्फत शिक्षकहरूले पठाएको भनिएका विभिन्न च्याटका स्क्रिनसटहरू सार्वजनिक भइरहेका छन्। ती सामग्रीको प्रामाणिकता, त्यसमा देखिएका व्यक्तिहरूको भूमिका तथा सम्भावित कानुनी उत्तरदायित्वबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
विद्यार्थीको सुरक्षा, विद्यालयभित्रको आचरण र शैक्षिक संस्थाको उत्तरदायित्वसँग प्रत्यक्ष जोडिएको यस घटनाले व्यापक सार्वजनिक चासो र बहस सिर्जना गरेको छ। प्रहरीले अनुसन्धान निष्कर्षमा पुग्नुअघि सार्वजनिक सामग्रीका आधारमा कसैलाई दोषी वा निर्दोष ठहर गर्न नमिल्ने भन्दै प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ।