सम्झौता अवधि सकिँदा पनि सडक निर्माण अधुरै, विराटनगर–१६ का स्थानीय सास्तीमा

Breaking Nepal

मंगलबार ,साउन ५ , २०८३ १४:३५

विराटनगर / निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विराटनगर महानगरपालिका–१६ को सडक निर्माण कार्य अलपत्र परेको छ । सम्झौतामा तोकिएको समयसीमा सकिँदासमेत निर्माणमा उल्लेखनीय प्रगति नदेखिएपछि स्थानीयवासीले दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

स्थानीयका अनुसार दानीको घरदेखि पूर्वतर्फ रहेको कल्भर्टसम्मको सडक निर्माणका लागि गत असार ४ गते सम्झौता भएको थियो। उक्त योजना असार २४ गतेभित्र सम्पन्न गर्ने गरी विराटनगरस्थित नव दुर्गा निर्माण सेवासँग आठ लाख ९९ हजार ८ सय ६७ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

तर सम्झौता अवधि समाप्त भइसक्दा पनि सडकमा गिटीसमेत नहालिएको स्थानीयको आरोप छ। निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन आग्रह गरिए पनि बेवास्ता गरिएको उनीहरूको भनाइ छ ।

स्थानीय रमेश मण्डलका अनुसार अधुरो निर्माणका कारण पैदलयात्रु, विद्यार्थी, बालबालिका तथा मोटरसाइकल र साना सवारीसाधन सञ्चालनमा दैनिक समस्या भइरहेको छ । वर्षायाममा सडक हिलाम्मे हुने र सुख्खा मौसममा अत्यधिक धुलो उड्ने समस्या बढ्दा स्थानीयको जनजीवन प्रभावित बनेको उनले बताए ।

स्थानीयले निर्माणको गुणस्तरप्रति समेत गम्भीर प्रश्न उठाएका छन् । उनीहरूका अनुसार पीसीसी ढलान नगरी हिलोमै रिटेनिङ वाल निर्माण गरिएको छ । स्थानीय अशोक यादवले निर्माण व्यवसायीलाई यसबारे पटक–पटक जानकारी गराउँदासमेत बेवास्ता गर्दै हिलोमै इँटा जडान गरिएको आरोप लगाए ।

स्थानीयवासीका अनुसार सडक निर्माण लामो समयसम्म अलपत्र पर्दा दैनिक आवतजावत मात्र नभई आपत्कालीन सेवा, विद्यालय जाने विद्यार्थी तथा स्थानीय व्यापार–व्यवसायसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

निर्माण व्यवसायीले सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्दा सार्वजनिक पूर्वाधार निर्माणप्रतिको जनविश्वास कमजोर बन्दै गएको स्थानीयको भनाइ छ । उनीहरूले विराटनगर महानगरपालिका तथा सम्बन्धित निकायले निर्माण कार्यको प्रभावकारी अनुगमन गरी ढिलाइका कारण सार्वजनिक गर्न, निर्माणको गुणस्तर परीक्षण गर्न तथा सम्झौताअनुसार यथाशीघ्र काम सम्पन्न गराउन आवश्यक पहल गर्न माग गरेका छन् ।