३% समता कर तत्काल लागू नहुने, प्रधानमन्त्री बालेनको घोषणा

Breaking Nepal

मंगलबार ,साउन ५ , २०८३ १६:३२

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित ३ प्रतिशत समता कर हालका लागि लागू नगर्ने निर्णय भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि नागरिकमाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले उक्त कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिए।

प्रधानमन्त्री शाहका अनुसार समता करको उद्देश्य दुर्गम र विपन्न वर्गका नागरिकलाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउनु, स्वास्थ्य बीमा विस्तार गर्नु र कर प्रणालीलाई व्यवस्थित बनाउनु थियो। तर, नागरिकबाट आएको व्यापक प्रतिक्रियालाई सम्मान गर्दै सरकार निर्णय परिमार्जन गर्न तयार भएको उनले बताए।

यद्यपि, निजी अस्पतालमा १० प्रतिशत बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १० प्रतिशत सिट विपन्न तथा गरिब नागरिकका लागि पारदर्शी रूपमा उपलब्ध गराउने नीति भने कार्यान्वयन गरिने प्रधानमन्त्री शाहले स्पष्ट पारे।