पुष्पलालको ४८औँ स्मृतिमा काव्य गोष्ठी, विभिन्न ६२ जना कविद्वारा रचना वाचन

Breaking Nepal

मंगलबार ,साउन ५ , २०८३ २१:५५

विराटनगर / नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित काव्य गोष्ठी मंगलबार भव्य रूपमा सम्पन्न भएको छ ।

विराटनगरस्थित पुष्पलाल स्मारक समितिको आयोजनामा भएको कार्यक्रममा देशका अग्रणी कवि, साहित्यकार तथा प्राज्ञहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पुष्पलालको विचार, संघर्ष, राष्ट्रप्रेम र सामाजिक रूपान्तरणको सन्देशलाई कवितामार्फत स्मरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष केशवप्रसाद गौतमले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्राडा भीम खतिवडाको उपस्थिति रहेको थियो । विशिष्ट अतिथिहरूमा प्राडा टंक न्यौपाने, प्राडा बद्रिविशाल पोखरेल, प्राज्ञ विवश पोखरेल तथा खेम नेपाली सहभागी थिए ।

यस्तै प्राडा हरिहर भण्डारी, दिनेशराज सुवेदी, गोकुल अधिकारी, डा. देवी पन्थी, मधु पोखरेल, सीमा आभास, बाबुराम पोखरेल, महेश रेग्मी, मञ्जु घिमिरे दाहाल, दिनेश श्रेष्ठलगायत ठूलो संख्यामा कवि तथा साहित्यकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

गोष्ठीमा विभिन्न स्रष्टाले ६२ वटा कविता तथा साहित्यिक रचनाको वाचन गरेका थिए । कार्यक्रममा पुष्पलालको योगदान, विचारधारा तथा सामाजिक परिवर्तनका मुद्दालाई केन्द्रमा राखेर सिर्जना प्रस्तुत गरिएका थिए ।

कार्यक्रमको सुरुआत संस्थाका सदस्य योगेश राजभण्डारीको स्वागत मन्तव्यबाट भएको थियो भने सचिव हरि घिमिरेले अतिथिहरूलाई स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमका संयोजक कवि प्रयाग न्यौपानेका अनुसार स्मृति सप्ताहअन्तर्गत यसअघि दौड प्रतियोगिता, वृक्षारोपण तथा स्वास्थ्य शिविर सम्पन्न भइसकेका छन् । साउन ७ गते पुष्पलाल श्रेष्ठको प्रतिमा अनावरण तथा योगदानबारे विशेष विचार गोष्ठी आयोजना गरिने कार्यक्रम रहेको पुष्पलाल स्मारक समितिले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते पुष्पलालको प्रतिमामा समेत तोडफोड गरिएको थियो । स्मारकले पुनः पुष्पलालको प्रतिमा राखिसकेको छ ।