मधेसका ३४ स्थानीय तहबाट करदाता सेवा सुरु, सेवाग्राहीलाई सहजता

Breaking Nepal

बिहीबार ,साउन ७ , २०८३ ११:५४

जनकपुरधाम — मधेस प्रदेशका ३४ स्थानीय तहबाट करदाता सेवा सञ्चालनमा आएको छ। नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस व्यवस्थाबाट करसम्बन्धी सेवा अब स्थानीय तहबाटै लिन सकिने भएको हो।

हाल सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका ३४ स्थानीय तहमा सेवा सुरु भइसकेको छ। यससँगै प्यान दर्ता, प्यान रूपान्तरण, आयकर दर्ता तथा अन्तःशुल्कसम्बन्धी प्रारम्भिक प्रक्रिया स्थानीय तहबाटै गर्न सकिने व्यवस्था गरिएको छ।

आन्तरिक राजस्व कार्यालयका अनुसार सप्तरीका सबै १८ स्थानीय तहमा सेवा सञ्चालनमा आइसकेको छ भने धनुषा, सर्लाही, रौतहट र बाराका केही स्थानीय तहमा पनि सेवा विस्तार गरिएको छ। अन्य पालिकामा समेत सेवा विस्तारको तयारी भइरहेको जनाइएको छ।

यद्यपि सिरहा, महोत्तरी र पर्साका स्थानीय तहमा भने हालसम्म करदाता सेवा सञ्चालन हुन सकेको छैन। सम्बन्धित कार्यालयहरूले ती जिल्लामा पनि आवश्यक तयारी र समन्वय भइरहेको बताएका छन्।

स्थानीय तहबाटै सेवा सञ्चालन भएपछि करदाताले जिल्ला सदरमुकाम वा आन्तरिक राजस्व कार्यालयसम्म धाउनुपर्ने बाध्यता घट्ने, समय र खर्च बचत हुने तथा स्थानीय सरकार र सङ्घीय निकायबीचको समन्वय अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।