लहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ जना पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

Breaking Nepal

बिहीबार ,साउन ७ , २०८३ १९:०२

लहान / सिराहाको लहानमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । कारबाहीका क्रममा पाँच भारतीय नागरिक र एक नेपाली नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले बिहीबार दिउँसो लाहानस्थित हस्पिटल चोक क्षेत्रमा विशेष अपरेसन सञ्चालन गरेको थियो । सो क्रममा प्रहरीले गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ ।

कारबाहीका क्रममा एक भारतीय नागरिक र एक नेपाली नागरिकको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । दुवैको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेकाहरूको परिचय तथा लागूऔषध सञ्जालसँगको सम्बन्धबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।