Breaking Nepal

विराटनगर / कोशी प्रदेशका होटल व्यवसायीले मेची राजमार्गअन्तर्गत इलाम–चौबन्दी–पाँचथर सडक खण्डको जीर्ण अवस्थाका कारण पर्यटनसँगै होटल व्यवसाय गम्भीर संकटमा परेको बताएका छन् । सडकको खराब अवस्थाले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन घट्दै गएपछि पर्यटनमा आधारित व्यवसाय निरन्तर प्रभावित भएको उनीहरूको भनाइ छ ।
होटल संघ नेपाल, कोशी प्रदेश र मोरङ जिल्लाले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा सडकको दयनीय अवस्थाले पूर्वी पहाडी जिल्लामा आउने पर्यटकको संख्या उल्लेख्य रूपमा घटेको उल्लेख गरिएको छ । त्यसको प्रत्यक्ष असर होटल, रेष्टुराँ तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा परेको विज्ञप्तिमा जनाइएको छ ।
व्यवसायीका अनुसार लामो समयदेखि सडक निर्माण तथा स्तरोन्नतिको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। सडकको कमजोर अवस्थाले यात्रा असहज र जोखिमपूर्ण बन्दै जाँदा पर्यटकको गन्तव्य रोजाइमा समेत नकारात्मक प्रभाव परेको उनीहरूको निष्कर्ष छ ।
होटल व्यवसायीले पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन सडक पूर्वाधार सुधारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् । इलाम–पाँचथर–ताप्लेजुङ सडक खण्डको निर्माण तथा स्तरोन्नतिका लागि पर्याप्त बजेट, स्रोत–साधन र जनशक्ति परिचालन गरी कामलाई तीव्र बनाउनुपर्ने उनीहरूको आग्रह छ ।
विज्ञप्तिमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि घोषणामात्र नभई परिणाम देखिने गरी काम गर्नुपर्ने उल्लेख गरिएको छ। पूर्वी पहाडी जिल्लाको आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धन सडक पूर्वाधारसँग प्रत्यक्ष जोडिएको भन्दै समयमै सुधार नभए व्यवसायिक संकट अझ गहिरिने चेतावनी पनि दिइएको छ ।
होटल संघ नेपाल, कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठ र मोरङ जिल्ला अध्यक्ष भविसकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा सडक निर्माणमा भइरहेको ढिलाइ अन्त्य गर्दै यात्रु तथा पर्यटकलाई सहज र सुरक्षित आवागमनको वातावरण बनाउन सम्बन्धित निकायलाई तत्काल सक्रिय हुन आग्रह गरिएको छ ।