भूमिहीनलाई स्वामित्व हस्तान्तरण स् अर्जुनधारामा १८ परिवारले पाए धनीपुर्जा

Breaking Nepal

शुक्रबार ,साउन ८ , २०८३ १५:४५

झापा / झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १८ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। भूमि समस्या समाधान अभियानअन्तर्गत नगरपालिकाले धनीपुर्जा वितरणलाई निरन्तरता दिएको हो।

धनीपुर्जा वितरण कार्यक्रममा झापा क्षेत्र नं. २ की सांसद इन्दिरा रानामगर, झापाका प्रमुख जिल्ला अधिकारी तथा भूमि समस्या समाधान समिति झापाका अध्यक्ष शिवराम गेलाल, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख खड्गमाया पराजुलीलगायतको सहभागिता रहेको भूमि शाखा प्रमुख चुडामणि निरौलाले जानकारी दिए।

कार्यक्रममा सांसद रानामगरले भूमि नागरिकको आर्थिक तथा सामाजिक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले धनीपुर्जा प्राप्त गर्ने परिवारले त्यसको संरक्षण र सदुपयोगमा ध्यान दिनुपर्ने बताइन्।

प्रमुख जिल्ला अधिकारी गेलालले संघीय सरकारले तय गरेको योजनाअनुसार झापाका १५ वटै स्थानीय तहमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रक्रिया तीव्र बनाइएको बताए। लामो समयदेखि स्वामित्वबाट वञ्चित परिवारलाई प्राथमिकताका आधारमा धनीपुर्जा वितरण गर्ने तयारी भइरहेको उनको भनाइ थियो।

नगरप्रमुख तामाङले अर्जुनधाराभित्रको भूमि समस्या समाधानलाई नगरपालिकाको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै आफ्नो कार्यकालभित्र योग्य सबै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने लक्ष्य रहेको बताए।

उपप्रमुख पराजुलीले राजस्व दर उच्च भएकाले केही तयारी अवस्थामा रहेका धनीपुर्जा वितरण प्रभावित भएको उल्लेख गर्दै त्यसको समाधानका लागि आवश्यक सहजीकरण गर्न संघीय निकायसँग आग्रह गरिन्।

भूमि शाखा प्रमुख निरौलाका अनुसार अर्जुनधारा नगरपालिकाले यसअघि नै १४४ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिसकेको छ। अर्जुनधारा–१ का करिब १२५ परिवार धनीपुर्जा वितरणको चरणमा छन् भने वडा नं. २ का करिब ४२ परिवारको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

नगरपालिकाको अभिलेखअनुसार अर्जुनधारामा भूमिहीन दलित २१२, भूमिहीन सुकुम्बासी ७२९ र अव्यवस्थित बसोबासी ६ हजार ३५१ जना रहेका छन्।

धनीपुर्जा प्राप्त गरेका लक्ष्मीधापका लाभग्राहीहरूले लामो समयपछि जग्गाको कानुनी स्वामित्व प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले भूमि व्यवस्थापन प्रक्रियालाई अघि बढाएको सरकार र नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्।