Breaking Nepal

विराटनगर / चिकित्सा शिक्षा सुधारका माग राख्दै अनशन सुरु गरेका डा. गोविन्द केसीले निजी मेडिकल कलेजलाई ‘मेडिकल माफिया’को संज्ञा दिँदै विद्यार्थी सिट विस्तारको प्रस्तावको विरोध गरेपछि निजी मेडिकल कलेज सञ्चालकहरूले त्यसको कडा प्रतिवाद गरेका छन् । उनीहरूले यस्तो आरोप निराधार भएको दाबी गर्दै डा. केसीलाई सार्वजनिक बहसमा आउन चुनौती दिएका छन् ।
एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज नेपालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले निजी क्षेत्रमाथि बारम्बार ‘माफिया’को आरोप लगाउँदा चिकित्सा शिक्षामा भएको ठूलो लगानी र योगदानमाथि प्रश्न उठ्ने बताएका छन् । उनका अनुसार निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरेर चिकित्सा शिक्षा विस्तारमा भूमिका खेलेको अवस्थामा त्यसलाई माफियासँग तुलना गर्नु न्यायोचित होइन ।
कार्कीले निजी क्षेत्रप्रति नकारात्मक धारणा निर्माण हुँदा मुलुकमा लगानीको वातावरणसमेत प्रभावित हुने उल्लेख गरे । सरकारले निर्धारण गर्ने मापदण्ड पूरा गर्न आफूहरू तयार रहेको भन्दै उनले कमजोरी भए सुधार गर्न पनि तयार रहेको बताए ।
डा. केसीले धनगढीबाट सुरु गरेको अनशनमा चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र पर्याप्त पूर्वाधार तथा मापदण्डबिनै निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजमा विद्यार्थी सिट वृद्धि गर्ने तयारी तत्काल रोक्न माग गरेका छन् । उनले सरकारको चिकित्सा शिक्षा नीति, नियमन र सार्वजनिक निकायहरूमा निजी मेडिकल क्षेत्रको प्रभाव बढेको आरोप पनि लगाएका छन् ।
यद्यपि निजी मेडिकल कलेज सञ्चालकहरूले भने नेपाललाई क्षेत्रीय चिकित्सा शिक्षा केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताएका छन् । उनीहरूका अनुसार आवश्यक पूर्वाधार र मापदण्ड पूरा गर्ने संस्थालाई विद्यार्थी सिट विस्तारको अवसर दिँदा विदेशी विद्यार्थी आकर्षित गर्न सकिने र त्यसबाट देशमा ठूलो परिमाणमा विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।
निजी मेडिकल कलेज सञ्चालकहरूले डा. केसीको आन्दोलनको समयलाई लिएर पनि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि निरीक्षण, सिट निर्धारण र भर्ना प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला हरेक वर्षजस्तै आन्दोलन सुरु हुनु संयोगमात्र नभएको उनीहरूको बुझाइ छ ।
कार्कीले अन्य समयमा मौन रहने र भर्नाको तयारी सुरु हुनेबित्तिकै आन्दोलन गर्ने प्रवृत्तिबारे स्पष्ट हुनुपर्ने बताए । उनले यसले विद्यार्थी, अभिभावक र सम्पूर्ण चिकित्सा शिक्षा प्रणालीमा अन्योल सिर्जना गर्ने दाबी गरे ।
उनका अनुसार विद्यार्थी सिट वृद्धि हुँदा छात्रवृत्तिको संख्या पनि अनुपातमा बढ्ने भएकाले त्यसबाट विपन्न विद्यार्थीले समेत लाभ पाउने अवस्था रहन्छ । सिट विस्तारको विरोध गर्नुको उद्देश्य के हो भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
निजी मेडिकल कलेज सञ्चालकहरूले डा. केसीलाई सार्वजनिक संवाद र तथ्यमा आधारित बहसका लागि औपचारिक रूपमा निम्तो दिएका छन् । उनीहरूले चिकित्सा शिक्षासम्बन्धी सबै विषय खुला रूपमा छलफल गर्न आफूहरू तयार रहेको बताएका छन् ।
कार्कीले यदि डा. केसीका तर्क तथ्यसहित पुष्टि भए आफूहरू सुधारका लागि तयार रहने बताए। त्यसैगरी निजी क्षेत्रका धारणा र तथ्यले डा. केसीलाई विश्वस्त पार्न सके आन्दोलनको शैली पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।
सञ्चालकहरूको अर्को आरोप के छ भने डा. केसीले विगत दुई दशकअघिको अवस्थालाई आधार बनाएर अहिलेको निजी मेडिकल शिक्षाको मूल्यांकन गरिरहेका छन्। उनीहरूले अहिले निजी मेडिकल कलेजहरूको पूर्वाधार, प्रविधि, जनशक्ति, शैक्षिक गुणस्तर र सेवामा उल्लेख्य सुधार भएको दाबी गरेका छन् ।
उनीहरूले मेचीदेखि महाकालीसम्मका सरकारी र निजी सबै मेडिकल कलेजको संयुक्त निरीक्षण गरी पूर्वाधार, जनशक्ति, शैक्षिक वातावरण र विद्यार्थीको अनुभवका आधारमा निष्कर्ष निकाल्न प्रस्ताव गरेका छन्। त्यसपछि प्राप्त तथ्यका आधारमा चिकित्सा शिक्षा सुधारबारे साझा धारणा बनाउन सकिने उनीहरूको भनाइ छ ।