Breaking Nepal

काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गर्दै वालेट खोल्ने र प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ।
भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित निर्देशिकाअनुसार अब भुक्तानी सेवा प्रदायक संस्थाले नेपाली नागरिकका लागि नयाँ वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग विवरण प्रमाणीकरण गर्नुपर्नेछ।
त्यसैगरी, सबै वालेट सेवा प्रदायकले २०८३ असोज मसान्तभित्र आफ्ना प्रयोगकर्ताबाट मोबाइल एप वा अन्य माध्यममार्फत राष्ट्रिय परिचयपत्रको विवरण रहेको वा नरहेको स्वघोषणा संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशिकाअनुसार राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका प्रयोगकर्ताले तोकिएको समयसीमाभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ। परिचयपत्र नलिएका प्रयोगकर्तालाई भने परिचयपत्र प्राप्त भएपछि विवरण अद्यावधिक गर्न नियमित रूपमा जानकारी गराउनुपर्ने दायित्व सेवा प्रदायकलाई दिइएको छ।
विदेशमा रहेका नेपाली नागरिकले भने हालकै व्यवस्था अनुसार अनलाइनमार्फत आवश्यक कागजातका आधारमा डिजिटल वालेट खोल्न सक्नेछन्। तर नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था कायम राखिएको छ।
राष्ट्र बैंकले अशक्त तथा आफैं आफ्नो हेरचाह गर्न नसक्ने नागरिकका लागि भने राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभए पनि अन्य आवश्यक पहिचान खुल्ने कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने विशेष व्यवस्था पनि यथावत राखेको जनाएको छ।