पोखरीमा डुबेर बालिकाको मृत्यु, घटनाबारे प्रहरीको अनुसन्धान जारी

Breaking Nepal

शनिबार ,साउन ९ , २०८३ १७:०१

विराटनगर। मोरङको धनपालथान गाउँपालिका–३ मा पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा धनपालथान–३ निवासी जोगन मुर्मूकी छोरी जेविना मुर्मू छन्। शनिबार दिउँसो घरबाट करिब ४ सय मिटर टाढा रहेको पोखरीमा डुबेर उनको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जेविना साथीहरूसँग खेल्ने क्रममा धनपालथान–३ स्थित दिनेश मण्डलको पोखरीमा पुगेकी थिइन्। दिउँसो करिब १ बजे उनी पोखरीमा डुबेपछि सँगै रहेका साथीहरूले स्थानीयलाई खबर गरेका थिए।

स्थानीयले तत्काल पोखरीबाट बालिकालाई बाहिर निकाले पनि उनको ज्यान जोगिन सकेन। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसबेला शव घरमा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा पुगेको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।