Breaking Nepal

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) ले स्थापना भएयता पहिलोपटक विदेशी विद्यार्थीलाई नियमित शैक्षिक कार्यक्रममा भर्ना गर्ने तयारी गरेको छ। विश्वविद्यालयले प्रारम्भिक चरणमा स्नातक तहका चार शैक्षिक कार्यक्रममा १० जना विदेशी विद्यार्थीलाई अध्ययनको अवसर दिने योजना अघि बढाएको हो।
विश्वविद्यालयका अनुसार कृषि, वन विज्ञान र पशु चिकित्सा विज्ञान कार्यक्रममा समान रूपमा तीन–तीन जना तथा मत्स्य विज्ञान कार्यक्रममा एक जना विदेशी विद्यार्थी भर्ना गरिनेछ। यसका लागि आवश्यक कार्यविधि अन्तिम चरणमा पुगेको विश्वविद्यालयले जनाएको छ।
विदेशी विद्यार्थीका लागि शुल्क संरचना पनि तय गरिएको छ। पशु चिकित्सा विज्ञान कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीबाट १० हजार अमेरिकी डलर शुल्क लिइनेछ भने कृषि, वन विज्ञान र मत्स्य विज्ञानका कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीका लागि चार हजार अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ।
विश्वविद्यालयले सञ्चालन गर्ने नियमित प्रवेश परीक्षामा विदेशी विद्यार्थी सहभागी हुनुपर्ने व्यवस्था भने रहने छैन। उनीहरूको शैक्षिक योग्यता, छनोट प्रक्रिया, आवश्यक मापदण्ड तथा भर्नासम्बन्धी व्यवस्था छुट्टै कार्यविधिमार्फत निर्धारण गरिने विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाका अनुसार अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा संस्थाका रूपमा पहिचान स्थापित गर्न विदेशी विद्यार्थीको सहभागिता महत्वपूर्ण सूचक मानिन्छ। सोही उद्देश्यअनुसार विश्वविद्यालयले नियमित अध्ययनका कार्यक्रम विदेशी विद्यार्थीका लागि खुला गर्ने निर्णय गरेको हो।
यसअघि विश्वविद्यालयले विभिन्न देशका विद्यार्थी तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै अल्पकालीन अध्ययन, अनुसन्धान र शैक्षिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर उपाधिमूलक नियमित शैक्षिक कार्यक्रममा विदेशी विद्यार्थी भर्ना गर्ने व्यवस्था भने पहिलोपटक लागू गर्न लागिएको हो।
हाल विश्वविद्यालयले स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा कृषि, वन, पशु चिकित्सा, मत्स्य तथा सम्बन्धित विधाका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।