Breaking Nepal

इटहरी । सरकारले एलपी ग्यासको आधा सिलिन्डर वितरण प्रणाली हटाएर साउन १ गतेदेखि पूरा सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरेपछि सहज आपूर्तिको अपेक्षा गरेका उपभोक्ता उल्टै अभावको चपेटामा परेका छन्। कोशी प्रदेशका अधिकांश ग्यास डिलरमा मौज्दात सकिँदा घरायसी उपभोक्तासँगै होटल, रेस्टुरेन्ट र खाद्य व्यवसाय प्रभावित भएका छन्।
इटहरीसहित प्रदेशका प्रमुख बजार क्षेत्रमा ग्यास खोज्दै उपभोक्ता डिलर धाउन थालेका छन्। कतिपय स्थानमा खाली सिलिन्डर बोकेर बिहानैदेखि लाइन बसे पनि ग्यास नपाई फर्किनुपर्ने अवस्था देखिएको छ।
इटहरीमा क्याफे सञ्चालन गर्दै आएकी प्रमिला दाहालले ग्यास अभावका कारण व्यवसाय नै रोक्नुपर्ने अवस्था आएको बताइन्। बजारका धेरै डिलरमा खोज्दा पनि ग्यास नपाएपछि केही समयका लागि क्याफे बन्द गर्नुपरेको उनको भनाइ छ।
आपूर्ति प्रणालीमै समस्या
इटहरीस्थित प्रिमा ग्यासकी म्यानेजर चन्द्रकला गुरुङका अनुसार पछिल्ला केही दिनयता कोशी प्रदेशमा एलपी ग्यासको आपूर्ति निरन्तर घटिरहेको छ। भारतको हर्दिया–दुर्गापुर क्षेत्रको आपूर्ति प्रणालीमा आएको अवरोधले नेपालतर्फ आउने ग्यास ढुवानी प्रभावित भएको उनले बताइन्।
उनका अनुसार भारतको पारादीपबाट लोड भएको ग्यास सामान्य अवस्थामा चार दिनभित्र नेपाल आइपुग्ने गरे पनि भागलपुरस्थित पुलमा आएको क्षतिले ढुवानी समय लम्बिएको छ। साउन सुरु भएपछि ग्यासको आपूर्ति र बजार मागबीच ठूलो अन्तर देखिएको उनले बताइन्।
नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीले ग्यास अभाव कोशी प्रदेशमा मात्र सीमित नभई देशभर देखिएको बताए। भारतको उत्पादन तथा ढुवानी प्रणालीमा आएको अवरोधका कारण नेपालका लागि लोड भएका ग्यास बुलेट समयमै नेपाल भित्रिन नसकेको उनको भनाइ छ।
कार्कीका अनुसार यसअघि आधा सिलिन्डर वितरण हुँदा बजारको माग र आपूर्ति व्यवस्थापन तुलनात्मक रूपमा सहज थियो। तर पूरा सिलिन्डर वितरण सुरु भएपछि एकैपटक माग बढेको र त्यही समयमा आपूर्ति प्रणाली प्रभावित हुँदा समस्या देखिएको हो।
“माग बढेको छ, तर त्यसअनुसार आपूर्ति बढ्न सकेको छैन,” उनले भने।
उनका अनुसार शुक्रबार विराटनगरका लागि २५ वटा ग्यास बुलेट नेपाल भित्रिने तयारी भए पनि त्यसले मात्र तत्कालको बजार माग पूरा गर्न पर्याप्त हुने अवस्था छैन।
व्यवसायी पनि संकटमा
ग्यास अभावको असर घरायसी उपभोक्तामा मात्र नभई व्यावसायिक क्षेत्रमा समेत परेको छ। होटल, रेस्टुरेन्ट, क्याफे, चिया पसल तथा साना खाद्य व्यवसायीले दैनिक कारोबार सञ्चालनमा कठिनाइ भोगिरहेका छन्।
व्यवसायीका अनुसार ग्यास नहुँदा खाना पकाउने काम प्रभावित भएको छ। कतिपयले वैकल्पिक उपाय खोज्न थालेका छन् भने केही व्यवसायले सेवा नै सीमित गर्न थालेका छन्।
डिलरहरूले पनि मौज्दात सकिएपछि बुकिङका आधारमा वितरण गर्ने अवस्था आएको बताएका छन्। ग्यास आउने सूचना पाएपछि उपभोक्ताको भीड बढ्ने गरेको छ।
आयातमा निर्भर बजार
नेपालमा खपत हुने सम्पूर्ण एलपी ग्यास भारतबाट आयात हुने भएकाले त्यहाँको उत्पादन, लोडिङ र ढुवानी प्रणालीमा आउने सामान्य अवरोधले समेत नेपाली बजार प्रभावित हुने गरेको छ।
नेपाल आयल निगमका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ। निगमले भारतबाट आपूर्ति सहज हुनेबित्तिकै वितरण प्रणाली नियमित बनाउने जनाएको छ।
तर आयात र ढुवानी प्रक्रिया पूर्ण रूपमा सामान्य अवस्थामा नफर्किएसम्म उपभोक्ताले अझै केही दिन ग्यास अभावको समस्या सामना गर्नुपर्ने देखिएको छ।