बिटुमिन अभाव हटेपछि काँकरभिट्टा–लौकही सडक निर्माण तीव्र, दैनिक ८ सय मिटरसम्म कालोपत्रे

Breaking Nepal

आइतबार ,साउन १० , २०८३ १५:११

झापा / पूर्व–पश्चिम राजमार्गअन्तर्गतको काँकरभिट्टा–लौकही सडक स्तरोन्नति आयोजनाले वर्षायामकै बीच निर्माण कार्यलाई तीव्र बनाएको छ । बिटुमिन आपूर्ति सहज हुन थालेपछि पूर्वी खण्डमा कालोपत्रेले गति लिएको हो ।

काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का प्रमुख सुनिल पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा १६ दशमलव ५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ । मौसम अनुकूल रहे आगामी एक साताभित्र थप सात किलोमिटर सडकमा कालोपत्रे गर्ने तयारी छ ।

आयोजनाले दैनिक चार सयदेखि आठ सय मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य राखेको छ । यही गतिमा काम अघि बढे आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय मौसम अनुकूल बन्दै गएपछि निर्माण कार्यले निरन्तरता पाएको आयोजना कार्यालयको भनाइ छ । वर्षायामका कारण केही समय प्रभावित बनेको काम अहिले पुनः निर्धारित गतिमा अघि बढिरहेको जनाइएको छ ।

सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडिबी) मार्फत पाँच प्याकेजमा ९५ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । आयोजना पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक समेटिएको छ ।

हाल पहिलो प्याकेज (काँकरभिट्टा–सीतापुरी) को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ । दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ) मा ४२ प्रतिशत र तेस्रो प्याकेज (गोठगाउँ–लबीपुर) मा १९ प्रतिशत प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।

स्तरोन्नतिपछि सडकको बीचभागमा तीन मिटर चौडा डिभाइडर रहनेछ । सहरी क्षेत्रमा चार लेन मुख्य सडकसँगै दुवैतर्फ सर्भिस लेन निर्माण गरिनेछ भने सडकको कुल चौडाइ ५० मिटर पुग्नेछ । अर्धसहरी क्षेत्रमा थप लेनसहित ३३ मिटर चौडा तथा अन्य क्षेत्रमा २४ मिटर चौडाइको चार लेन सडक निर्माण हुनेछ ।

निर्माणको मुख्य सिजनमै बिटुमिन र डिजेल आपूर्तिमा समस्या उत्पन्न हुँदा काम प्रभावित भएको थियो । पश्चिम एसियामा बढेको भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति शृंखला प्रभावित बनेपछि निर्माण सामग्री व्यवस्थापनमा चुनौती थपिएको आयोजना र निर्माण कम्पनी दुवैले जनाएका छन् ।

पूर्वी खण्ड निर्माणको जिम्मा लिएको इभ्रास्कन–कालिका जेभीका प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंका अनुसार अहिले बिटुमिनको मौज्दात पर्याप्त रहेकाले कालोपत्रे कार्य तीव्र रूपमा अघि बढाइएको छ । यद्यपि नेपाल आयल निगमको डिजेल कोटा प्रणालीका कारण निर्माण उपकरण सञ्चालनमा अझै केही कठिनाइ रहेको भन्दै परियोजनाका लागि पर्याप्त इन्धन उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति आयोजनाको लागतमा एसियाली विकास बैंकको ८४ दशमलव ९ प्रतिशत ऋण तथा नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानी रहेको छ ।

काँकरभिट्टादेखि लौकहीसम्म करिब १२० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ । २०२४ फेब्रुअरी २ मा सुरु भएको आयोजना २०२७ फेब्रुअरी १ भित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ ।

स्तरोन्नति सम्पन्न भएपछि यो सडक एसियाली राजमार्ग सञ्जालको महत्वपूर्ण खण्डका रूपमा विकसित हुनेछ । इन्डोनेसियादेखि म्यानमार, असम हुँदै नेपालको पूर्वी नाका काँकरभिट्टा र पश्चिमी नाका गड्डाचौकी जोडिने अन्तरदेशीय सडक सञ्जालमा यसको रणनीतिक महत्व रहने सडक विभागको अपेक्षा छ ।