Breaking Nepal

विराटनगर / निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन विराटनगरले सदस्य विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरूलाई लक्षित गर्दै लेखा, वित्त तथा करसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको आर्थिक सुशासन, पारदर्शिता तथा कानुनी दायित्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार आयोजित कार्यक्रममा विराटनगरका ३० भन्दा बढी सदस्य विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट किन्जल पोखरेल र चार्टर्ड एकाउन्टेन्ट युवराज उप्रेतीले विद्यालयमा प्रभावकारी लेखा प्रणाली स्थापना, वित्तीय योजना, बजेट निर्माण, खर्च नियन्त्रण, कर व्यवस्थापन, कर विवरण बुझाउने प्रक्रिया तथा प्रचलित कानुनी व्यवस्थाबारे सहजीकरण गरेका थिए । सहजीकरणका क्रममा विद्यालयको वित्तीय अनुशासन, पारदर्शी आर्थिक प्रणाली तथा दिगो संस्थागत व्यवस्थापनका व्यवहारिक पक्षमा समेत अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले गुणस्तरीय शिक्षासँगै आर्थिक सुशासन पनि विद्यालयको विश्वसनीयताको प्रमुख आधार भएको बताए । उनले पारदर्शी लेखा प्रणाली, व्यवस्थित वित्तीय योजना तथा कानुनसम्मत कर व्यवस्थापनलाई प्रत्येक विद्यालयले संस्थागत संस्कृतिका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै सदस्य विद्यालयहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवालले बदलिँदो आर्थिक तथा कर नीतिअनुसार विद्यालयहरूले आफ्नो वित्तीय प्रणालीलाई समयानुकूल बनाउन आवश्यक रहेको उल्लेख गरे। उनले सुशासन र पारदर्शिताले विद्यालयप्रति अभिभावक, नियामक निकाय तथा समाजको विश्वास अझ बलियो बनाउने धारणा राखे ।
कार्यक्रममा मन्तव्य राख्दै सगरमाथा स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले विद्यालय सञ्चालनमा शैक्षिक व्यवस्थापनसँगै आर्थिक व्यवस्थापनको दक्षता अपरिहार्य बन्दै गएको बताए । उनले भने, ‘विद्यालयको वित्तीय प्रणाली पारदर्शी, व्यवस्थित र कानुनसम्मत बनाउन यस्ता अभिमुखीकरण कार्यक्रम अत्यन्त उपयोगी छन्। व्यवहारमा लागू गर्न सकिने विषयवस्तु समेटिएकाले सहभागी विद्यालयले प्रत्यक्ष लाभ लिने विश्वास लिएको छु ।’
दर्पण स्कुलका प्रिन्सिपल गोपाल गेलालले विद्यालय व्यवस्थापनमा लेखा र करसम्बन्धी अद्यावधिक ज्ञानले संस्थागत जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘शिक्षण–सिकाइमा केन्द्रित विद्यालय व्यवस्थापनले अब वित्तीय अनुशासन र करसम्बन्धी कानुनी दायित्वलाई पनि समान प्राथमिकता दिनुपर्ने समय आएको छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले विद्यालयलाई अझ व्यवस्थित, उत्तरदायी र दिगो बनाउने आधार तयार गर्छ ।’
कार्यक्रममा प्याब्सन विराटनगरका उपाध्यक्ष तथा तालिम संयोजक अशोक लामा, सचिव चिरञ्जीवी तिम्सिना, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सदस्य विद्यालयका संस्थापक र प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै आयोजकले विद्यालयमा पारदर्शी लेखा प्रणाली, सुदृढ वित्तीय व्यवस्थापन, करसम्बन्धी कानुनी पालना तथा संस्थागत सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।
सहभागीहरूले कार्यक्रमलाई व्यवहारिक, समयसापेक्ष र ज्ञानवर्धक भएको प्रतिक्रिया दिँदै विद्यालय व्यवस्थापनसँग सम्बन्धित समसामयिक विषयमा यस्ता व्यावसायिक अभिमुखीकरण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए ।