Breaking Nepal

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजार मंगलबार साँझदेखि हिंसात्मक झडप र हुलदंगाले तनावग्रस्त बनेको छ । दुई समुदायबीच सुरु भएको विवादले उग्र रूप लिएपछि आगजनी, तोडफोड तथा घरेलु हतियार प्रयोग भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडप लामो समयसम्म जारी रहँदा स्थिति नियन्त्रणमा लिन परिचालित सुरक्षाकर्मीलाई समेत कठिनाइ भएको छ । ढुंगामुढा र आक्रमणका कारण केही सुरक्षाकर्मी सुरक्षित स्थानतर्फ फर्किन बाध्य भएको स्रोतले जनाएको छ ।
झडपका क्रममा देवानगन्ज बजार र आसपासका क्षेत्रमा आगजनी भएको छ भने सर्वसाधारण त्रसित बनेका छन् । वृद्धवृद्धा, महिला तथा बालबालिकासमेत प्रभावित भएको आशंका गरिएको छ । घटनाबाट भएको क्षतिको यकिन विवरण भने सार्वजनिक भएको छैन ।
यसअघि दिउँसो सुरक्षा अधिकारीले प्रभावित क्षेत्रको निरीक्षण गरी स्थानीयसँग छलफल गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि मंगलबार साँझसम्म अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको थिएन ।
सुरक्षा निकायले संयमता अपनाउन र अफवाहमा नलाग्न सर्वसाधारणसँग आग्रह गरेको छ । घटनाको वास्तविक क्षति तथा कारणबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।