Breaking Nepal

विराटनगर / सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार राति ९ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको साउन १२ गते बसेको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम कर्फ्यु लागू गरिएको हो ।
प्रशासनका अनुसार कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा–बैठक गर्न तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ । आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।
कर्फ्यु इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू हुनेछ ।
प्रशासनले आदेश तत्काल प्रभावबाट कार्यान्वयनमा ल्याइएको जनाएको छ । कर्फ्यु प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको छ ।
स्थानीय बासिन्दालाई अत्यावश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन, सुरक्षा निकायका निर्देशन पालना गर्न तथा अफवाह र भ्रामक सूचनाको पछि नलाग्न प्रशासनले आग्रह गरेको छ ।
देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा हालै भएको घटनापछि जिल्लाको शान्ति–सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै सम्भावित अप्रिय घटना रोक्न, सार्वजनिक सुरक्षा कायम राख्न र सामाजिक सद्भाव संरक्षण गर्न कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार जिल्लाको अवस्थाको निरन्तर समीक्षा भइरहेको छ । सुरक्षा अवस्था सामान्य भएपछि आवश्यक निर्णय सार्वजनिक गरिने पनि जनाएको छ ।