विराटनगर / सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझ भएको हिंसात्मक झडप राति सुरक्षा निकायको सक्रिय परिचालनपछि नियन्त्रणमा आएको छ। करिब अढाई घण्टासम्म तनावग्रस्त बनेको क्षेत्र राति ९ः३० बजेदेखि क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको थप परिचालन गरी क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ। सम्भावित अप्रिय गतिविधि रोक्न संवेदनशील स्थानमा निगरानीसमेत बढाइएको उनले बताए।
प्रहरीका प्रारम्भिक विवरणअनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडपका क्रममा रड, भाला, खुँडा तथा तरबारजस्ता घरेलु हतियार प्रयोग भएका छन्। उग्र भिडका कारण सुरक्षाकर्मीलाई केही समय प्रभावकारी रूपमा हस्तक्षेप गर्न कठिनाइ भएको जनाइएको छ।
घटनाका क्रममा बजार क्षेत्रका घर तथा व्यवसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ। प्रारम्भिक आकलनअनुसार २० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि रातिको अवस्थाका कारण क्षतिको यकिन विवरण संकलन हुन नसकेको र विस्तृत मूल्याङ्कनपछि मात्र आधिकारिक तथ्याङ्क सार्वजनिक गरिने सुरक्षा अधिकारीहरूको भनाइ छ।
यसअघि मंगलबार दिउँसोदेखि नै देवानगञ्ज र घुस्की क्षेत्रमा तनाव देखिएको थियो। केही स्थानमा आगजनी भएको तथा सुरक्षाकर्मीमाथि समेत आक्रमण भएपछि सुरक्षा सतर्कता बढाइएको थियो। त्यसक्रममा देवानगञ्ज र हरिनगर क्षेत्रको अवस्थाको निगरानी गर्न नेपाली सेनाले हेलिकोप्टरमार्फत हवाई गस्ती गरेको थियो।
सुरक्षा अधिकारीहरूले स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा सरोकारवालासँग छलफल गर्दै संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र शान्ति कायम राख्न आग्रह गरेका थिए। तर साँझ पुनः झडप चर्किएपछि बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।
प्रहरीका अनुसार घटनामा केही व्यक्ति घाइते भएको अनुमान गरिए पनि घाइतेको संख्या, अवस्था तथा मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। घटनासम्बन्धी थप अनुसन्धानसँगै क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।
सुरक्षा निकायले हाल क्षेत्रको अवस्था नियन्त्रणमा रहेको जनाएको छ। स्थानीयलाई अफवाह र अपुष्ट सूचनाबाट सचेत रहन, सामाजिक सद्भाव कायम राख्न तथा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरिएको छ।